विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् ।
महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । “यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारी पनि छन्,” उनले भने, “केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।”
‘मर्जर’मा गएमा सहकारी बलियो हुने भन्दै नगरप्रमुख कोइरालाले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन नभएकाले समस्या देखिएको स्पष्ट पारे । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको जानकारी दिइन् ।
स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । उपप्रमुख कार्कीले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको धारणा राखिन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया