काठमाण्डौं महानगरको राजस्व संकलन ४३ प्रतिशत


काठमाण्डौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९\८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ ।

महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख रुपैयाँ उठाएको जनाएको छ ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा ५० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् ९० लाख रुपैयाँ भन्दा धेरै राजस्व उठाएको छ । महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ ।

महानगरले दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा एक अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालु आवमा एक अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड रुपैयाँ उठाएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट ४१ करोड रुपैयाँ उठेको छ । उक्त शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।