भूगोल इनर्जीले साढे १३ करोडको आईपीओ ल्याउँदै, कस्तो छ कम्पनी ?


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साढे १३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पानीले आफ्नो जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि नै १ लाख ८ हजार ८११ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ लगानीकर्ताले चैत २३ गतेदेखि चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

यसरी दिन सकिन्छ आवेदन

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने छ । यस्तै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको बारेमा

कम्पनीले प्रबर्धन गरिरहेको ३.७५ मेगावाटको द्वारी खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ७३ करोड १९ लाख ७८ हजार ८०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १९ करोड ५१ लाख ९४ हजार ३४९ रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.४१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २५ वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।