दोल्ती पावरले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने


दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आएपीओमा चैत २८ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा बैशाख १२ गतेसम्म आवेदन खुला रहनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कहाँबाट भर्न सकिन्छ ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्।

कस्तो छ आयोजना ?

दोल्ती पावरले दैलेखको नौमुले गाउँपालिकामा रहेको पदमखोलामा ८० करोडको लागतमा पदमखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।उक्त जलविद्युत आयोजनाले निर्माण कार्य सुरु भएको १३ महीनामै निर्माणको काम सम्पन्न गरेर उत्पादन मिति भन्दा अगावै विद्युत उत्पादन थालेपछि नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक उत्सवमा कम्पनी कदर पत्रबाट सम्मानित समेत भएको थियो । कम्पनी २०६१ चैतमा कम्पनी रजिष्ट्रारको कार्यालमा दर्ता भएको थियो ।

जलविद्युत आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.८५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २६.९५ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति ३० वर्ष बाँकी रहेको छ । कम्पनीले प्रवद्र्धन गरेको ४.५० मेगावाटको पदम खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट अनुमानित लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँका दरले कुल १ अर्ब ८ करोड २२ लाख ९० हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।