भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन, कति पर्यो आवेदन ?


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि चैत २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । 

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेकोमा जसमध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरिएको सेयर बाँडफाँड गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले कुल १३ लाख ४६ हजार ९९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

चैत २३ गतेदेखि निष्काशन भएको आइपीओमा आइतबार साँझ ७ बजेसम्म ९ लाख ४८ हजार २०५ जनाले १ अर्ब ७ करोड ३२ लाख ३५ हजार रुपैयाँ बराबारको १ करोड ७ लाख ३२ हजार ३५० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि निष्काशन गरिएको कित्तामा मागभन्दा ७.९७ गुणा बढी आवेदन हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले आज (चैत २७ गते) कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।