एशोसियटतर्फको मतपरिणाममा संघई शीर्षस्थानमा, अन्जनभन्दा ४० मत अगाडि

एशोसियटतर्फको मतपरिणाममा संघई शीर्षस्थानमा, अन्जनभन्दा ४० मत अगाडि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदको लागि भएको मतदानको एसोसिएटतर्फ सबै मतगणना सम्पन्न भएको छ ।

एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघई ६१३ मत ल्याउँदै शीर्ष स्थानमा रहेका छन् ।  दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् । तेस्रो मत पाएका उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार बुधबार भएको निर्वाचनमा एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्ष पदका लागि १ हजार ६३० मत खसेको थियो । जसमध्ये १८ मत बदर भएका छन् ।

अब केही बेरमा वरिष्ठ उपाध्यक्षका लागि वस्तुगत र जिल्ला–नगरतर्फको मतगणना सुरु हुनेछ ।

एसोसिएटतर्फ संघईले प्राप्त गरेको मत कुल खसेको मतको ३७.६१ प्रतिशत हो । एशोसिएट्सलाई आधार मान्दा वस्तुगत र जिल्ला–नगरतर्फबाट कुनै चमत्कार नभएको खण्डमा बरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने छ । त्यसपछि तेस्रो हुने उम्मेदवारले जुन उम्मेदवारलाई सघाउँछ उसैले निर्वाचन जित्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० चैत २०७९, बिहीबार ११ : ०८ बजे