कर्णालीको पर्यटन प्रवर्द्धनका लागि जुम्ला–रारा अल्ट्रा म्याराथन


कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन आज सुरु भएको छ । जुम्लाको चन्दननाथ मन्दिरदेखि मुगुको रारा तालसम्मको ४९ किलोमिटर दूरीको अल्ट्रा म्याराथन सुरु भएको हो ।

हरेक वर्ष लोकतन्त्र दिवसका अवसर पारेर जुम्ला–रारा अल्ट्रा म्याराथन आयोजना गर्दै आएको कर्णाली स्पोर्ट क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए ।

शून्य प्वाइन्ट खलङ्गादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम विन्दु तोकिएको छ । क्लबका अध्यक्ष शाहीले भने, “म्याराथनमा विभिन्न विधामा गरेर २८ खेलाडीलाई पुरस्कृत गरिने भएको छ । म्याराथनमा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा चौथो र पाँचौँलाई २०–२० हजार प्रदान गरिने गरिने छ ।”

म्याराथनको उद्घाटन गर्न जुम्ला पुग्नुभएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारले यहाँका पर्यटकीय स्थानको पहिचान गरी आवश्यक सहयोग गर्न प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताए ।

कर्णाली पर्यटन क्षेत्रको सम्भावना बोकेको प्रदेश भएकाले सङ्घीय सरकारसँग सहकार्य समन्वयको माध्यमबाट काम गरिने मुख्यमन्त्री शर्माको भनाइ छ । जुम्लामा यसअघि तीनवटा म्याराथनका प्रतियोगिता भइसकेका छन् । हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा विभिन्न देशका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड्स, भारत, इटाली, अमेरिकालगायतका देशबाट खेलाडी सहभागी हुने गरेका थिए । यो वर्ष नेपालका १९ जिल्लाका सहित अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी भएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।