मर्जरमा गएका कम्पनीहरु भावनात्मक रुपमा मिलेर अघि बढेमा समस्या आउँदैनः अध्यक्ष सिलवाल

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताएका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको आज ललितपुरमा उद्घाटन गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्नु नहुने, स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

“कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुप¥यो, कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुप¥यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुप¥यो, त्यसो नभएमा कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुप¥यो ।” अध्यक्ष सिलवालले भने ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु सञ्चालनमा आएको स्पष्ट गर्दै बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताए ।

उनले बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताएका छन् । प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्ब बराबरको दाबी भुक्तानी भएको अध्यक्ष सिलवालले जानकारी दिए । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफलरुपमा अघिबढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरु मिलेर अगाडि बढ्नुपर्ने बताइन् ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।