मजदुरबाट मालिक बनेका बागलुङका खत्री

0
Shares

विसं २०६६ मा एउटा प्लास्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्री यतिबेला यस क्षेत्रकै सफल कृषकमा गनिन्छन् ।

विगतमा ज्यालामजदुरी गर्दै आएका खत्रीको कृषि क्षेत्रको लगाव, मेहनत र निरन्तरताका कारण अहिले १८ रोपनी जग्गामा फैलिएको तरकारी फार्मको मालिक भएका छन् । पोखरा जाने क्रममा पर्वत जिल्ला सदरमुकाम कुश्मामा प्लास्टिक टनेलमा गोलभेँडा खेती गरेको देखेपछि तरकारी खेती गर्ने सोच पलाएको बताउने खत्रीको अहिले सानाठूला गरी आठ प्लास्टिक टनेलमा तरकारी खेती छ ।

खत्रीले मौसमी तथा बेमौसमी तरकारी खेतीमा सफलता पाउनुभएको छ । आफ्ना साथीभाइ वैदेशिक रोजगारीका लागि पलायन हुँदै गर्दा खत्रीको मनमा कहिल्यै विदेश जाने योजना नआएको सुनाए । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० लाख आम्दानी गर्न सफल भएका छन् ।

“गाउँघरमा घर निर्माणको काम गर्दथे, पछि प्लास्टिक टनेलमा उत्पादन गरेको तरकारी राम्रो भएको देखेँ, परीक्षणका लागि एउटा प्लास्टिक टनेलबाट १४ वर्षअघि तरकारी खेती गर्न थाले, तत्कालिक कृषि विकास कार्यालयको निरन्तर सहयोगले हौसला बढ्दै गयो”, कृषक खत्रीले भने, “एक रोपनी जग्गाबाट सुरु गरेको तरकारी खेती १८ रोपनीसम्म गर्न थालेको छु जसमध्ये पाँच रोपनी जग्गा मात्रै आफ्नो हो ।”

तरकारी खेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपायोग गर्दै व्यावसायिक तरकारी खेती गर्दै आएको खत्रीको भनाइ छ । अहिले खत्रीको प्लास्टिक टनेलमा गोलभेँडा, सिमी, काँँक्रो, काउली बन्दा लगायतका तरकारी उत्पादन भइरहेका छन् । खत्रीले आठ प्लास्टिक टनेलमा बेमौसमी तरकारी तथा खुल्ला जग्गामा मौसमी तरकारीमा जोड दिएका छन् ।

आठमध्ये दुई ‘हाइटेक’ र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत पुनः अर्को आधुनिक टनेल निर्माण भइरहको बताए । ५१ वर्षीय खत्रीले १४ वर्षको मेहतनका कारण अहिले वडाकै अगुवा कृषकका रुपमा परिचित भइसकेका छन् ।  आफ्नो खत्री एग्रो फर्ममा हालसम्म १२ लाख लगानी गरिसकेका खत्रीले कृषि ज्ञान केन्द्रबाट प्लास्टिक टनेल निर्माण गर्न र बीउ बिजनमा सहयोग भइरहेको बताए । उनले तरकारी खेतीसँगै ब्वायलर कुखुरा र भेडासमेत पालेका छन् ।

“एकजनालाई प्रत्यक्ष रोजगारी दिएको छु, परिवारका अन्य सदस्यले काममा सघाउनुहुन्छ, बजार नजिकै रहेकाले तरकारीले बजार नपाउने समस्या छैन, पहिला आफँै डोकोमा बोकेर बागलुङ बजार लैजान्थे, अहिले केही तरकारी गाउँमै खपत हुन्छ भने अधिकांश तरकारी बागलुङ बजारमा जीपमा राखेर पु¥याउँछु”, उनले भने, “तरकारी, कुखुरा, भेडा र किराना पसल सबै आम्दानीका स्रोत हुन्, तर मुख्य आम्दानी तरकारीबाटै हुन्छ, आम्दानीमध्ये तीन–चार लाख खर्च हुन्छ ।”

तरकारी खेतीमै भएको बचतले दुई छोराहरुलाई पढाउने र घर निर्माण गरेको खत्रीको भनाइ छ । अघिल्लो वर्ष कृषि ज्ञान केन्द्र बागलुङले खत्रीको फर्मले आधुनिक टनेल निर्माणका लागि २ लाख ५० हजार अनुदान पाएको थियो । ज्ञान केन्द्र र बागलुङ नगरपालिकाले कृषिमा लाग्न निरन्तर हौसला प्रदान गरिरहेको खत्रीको भनाइ छ । खत्रीले थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत गोलभेँडा खेती गर्दै आउनुभएको छ । खत्री अहिले बागलुङ नगरपालिका–९ तित्याङको वडास्तरीय कृषि समितिको संयोजक छन् ।

उनले यस वर्ष वडामार्फत तरकारी खेती पवद्र्धन कार्यक्रमका लागि विनियोजित १० लाखमध्ये तीन आधुनिक तथा ३६ थान टनेलका लागि आवश्यक प्लास्टिक वितरण गरेको बताए । यस्तै, सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत सुन्तलाको बगैँचा विस्तार, सुन्तला कृषक प्रोत्साहन तथा सुन्तला खेतीका लागि आवश्यक औजार तथा उपकरणका लागि रु १० लाख बराबरको अनुदान कृषकमाझ पु¥याएको बागलुङ नगरपालिका–९ तित्याङका वडाअध्यक्ष राजु थापाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।