डिप्रोक्सले पायो आदर्श लघुवित्त एक्वीजिशनको अन्तिम स्वीकृति

0
Shares

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ती गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले जेठ ३ गते बुधबार अन्तिम स्वीकृति प्रदान गरेको हो ।

केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) बमोजिम अन्तिम स्वीकृति दिएको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एक बराबर एक (१ः१) सेयर स्वाप रेसियोमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेको हो ।

चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तबीच २०७९ असोज १४ मा एक्विजिसन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको एक महिनाभित्र अब डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गरी एकीकृत रुपमा वित्तीय कारोबार सुरु गरिसक्नु पर्नेछ । सो अवधिभित्र दुवै संस्थाका तथ्याङ्कलाई एकीकृत गरी प्राप्ति गरेको दिनदेखि एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

साथै, प्राप्तिपछि एकीकृत वित्तीय विवरणहरू तयार गरी बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागका साथै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिनुपर्नेछ ।

दुबै संस्थाले आ आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कायम हुने सेयर स्वाप अनुपात १ः१ अनुसार सेयर पुँजी मिलान गर्नुपर्नेछ ।

आदर्श लघुवित्तको अन्तिम दिनसम्म कायम रहेको लेखामा उल्लेख भएको मूल्यमा सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू समायोजन गरी डिप्रोक्स लघुवित्तको हिसाबमा लेखाङ्कन हुनेछ । साविकका दुवै संस्थाले प्राप्ति अघि गरेका करारीय दायित्व समेत प्राप्ति गर्ने संस्थामा सर्नेछ । साथै डिप्रोक्स तथा आदर्शको कुनै शाखा कार्यालय अर्कोमा गाभ्नु परेमा वा अन्यत्र स्थानान्तरण गर्नु परेमा सोको आवश्यकता तथा औचित्यता खुलाई स्वीकृतिको लागि केन्द्रीय बैंकमा पेश गर्नुपर्नेछ ।

प्राप्ति (एक्विजिशन) पश्चात् संस्थाको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका वडा नम्बर १०, भरतपुर चितवनमा रहनेछ ।

यसअघि फागनु ३० गते सम्पन्न भएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभाले डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको सेयर आदान प्रदान अनुपात १ः१ कायम गर्ने, अन्तिम समझदारी गर्ने प्रस्ताव पारित गरेको थियो । दुबै वित्तीय संस्था एक भएपछि यस संस्थाको चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार १६६ रूपैयाँ र नेटवर्थ २ अर्ब ९३ करोड ४६ लाख ५७ हजार ६२७रूपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।