नेप्से अर्धशतक बढीले बढ्यो, तीन महिनापछि दुई अर्ब नाघ्यो कारोबार

0
Shares

सेयर बजारमा साढे एक महिनापछि उच्च अंकको वृद्धि हुँदा तीन महिनापछि कारोबार रकम दुई अर्ब रुपैयाँ नाघेको छ ।

यसअघि चैत २९ गते बुधबार नेप्सेमा ९२ अंकको वृद्धि भएकोमा सो पश्चात जेठ ९ गते ५१ अंकको उच्च वृद्धि भएको हो । यसबीचमा कुनैपनि कारोबार दिनमा ५० अंक धेरैले बढेको थिएन । कारोबार रकमका आधारमा हेर्दा यसअघि फागुन १४ गते आइतबार सेयर बजारमा २ अर्र्ब ५२ करोड ५० लाखको सेयर कारोबार भएको थियो । सेयर बजारमा तीन महिनापछि २ अर्बमाथि कारोबार भएको हो ।

बैंकर्स संघको नियमित पत्रकार भेटघाटको क्रममा सोमबार संघका अध्यक्ष सुनिल केसीले कर्जाको ब्याजदर घट्दै गएको र असारबाट थप घट्ने बताएपछि त्यसको सकारात्मक असर पुँजी बजारमा देखिएको हो । पुँजी बजारमा सकारात्मक माहोल सिर्जना हुँदा सेयर बजारमा पाँच दिनयता अर्बमाथि कारोबार हुँदै आएको छ । बैंकिङ प्रणालीमा देखिएको घट्दो ब्याजरदरको क्रम र सेयर बजार घटेर तल्लो बिन्दुमा झरेको अवस्थामा नेप्सेमा लागातार छैटौं दिनको वृद्धि सम्भव भएको छ ।

नेप्से परिसूचक लगातार घट्दै जेठ १ गते १८१८ बिन्दुमा झरेपछि बजारमा देखिएको खरिद चाप सोमबारसम्म दिनप्रतिदिन उच्च हुँदै गएको छ । ६ कारोबार दिनमा नेप्से १२४ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको छ ।

मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.८५ अङ्कले उकालो लागेर ३६७.७४ बिन्दुमा पुगेको छ ।

कारोबार भएका कूल १३ वटै उपसमूहगत सूचकमा वृद्धि भएको छ । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ४.०५ प्रतिशत र लघुवित्तको ४.०३ प्रतिशतले बढेको छ । निर्जीवन बीमा, जीवन बीमा, ब्यापार, होटल तथा पर्यटनमुलक, फाइनान्सको सूचकमा ३ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ ।

यसदिन कूल ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४६ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन सोमबार ६० लाख ६७ हजार ७५२ कित्ता सेयर १ अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ मूल्यमा खरिद बिक्री भएका थिए । कारोबार रकम ९३ करोड रुपैयाँले बढेको हो ।

मंगलबार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ५ लाख १५ हजार ४३९ बराबरको २ लाख ३३ हजार ६०९ कित्ता सेयर १३२५ वटा संङ्ख्यामा खरिद बिक्री भयो । यस्तै नेपाल टेलिकमको ८ करोड ९९ लाख २७ हजार, एनआईसी एशिया बैंकको ७ करोड २३ लाख ६१ हजार रुपैयाँ, हिमालय एभरेष्ट इन्स्योरेन्सको ७ करोड १९ लाख ९७ हजार र हिमालयन डिष्टिलरीको ६ करोड ७९ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आजको बजारमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै रिभर फल्स पावर ८.३७, अजोड इन्स्योरेन्स ८.०८, ग्लोबल आइएमई लघुवित्त ७.९२, मिर्मिरे लघुवित्त ७.८४, विजय लघुवित्त ७.६३ र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ७.४० प्रतिशतले वृद्धि भएको छ ।

उता सनराइज फस्ट म्युचुअल फन्डको इकाईमूल्य २ प्रतिशतले घट्दा ग्लोबल आइउमई डिबेञ्चर २०८६/८७ को मूल्य १.९८, लक्ष्मी उन्नति कोष १.६५, लक्ष्मी बैंक डिबेञ्चर २०८८ को मूल्य १.६५ र आदर्श लघुवित्तको सेयरमूल्य १.२३प्रतिशतले ओरालो लागेको छ । कारोबार कित्ताका आधारमा आज एचआईडिसीएलको संस्थापक सेयर सर्वाधिक ३ लाख १५ हजार ५६३ कित्ता सेयर कारोबार भएको छ ।

मंगलबारको वृद्धिसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब ०० करोड ५७ लाख ५८ हजार रुपैयाँमा समेटिएको छ ।जुल अघिल्लो दिन सोमबारको तुलनामा ७४ करोड ८६ लाख रुपैयाँले धेरै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।