सुनको भाउले आकाश छोयो, एक सातामै ५ हजारले महङ्गियो

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी गर्नहरु बढ्दा पछिल्लो समय नेपालमा पनि पहेँलो धातु सुनको भाउ बढ्दै गएको छ । त्यसमाथि आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनको भन्सार दर पचास प्रतिशतले बढाएसँगै त्यसको सोझो असर स्थानीय बजारमा पर्दा सुन खरिद गर्ने उपभाेक्ताहरू त्यसकाे मारमा परेका छन् ।

सुनको भाउमा एक महिना नपुग्दै चार वटा नयाँ रेकर्ड कायम भएको छ । बजेटले भाउ बढाएसँगै पछिल्लो एक सातामा नै सुनको भाउ तोलामा ५ हजार रुपैयाँले वृद्धि भएको छ । गत शुक्रबार (जेठ १२ गते) तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ तोलामा कारोबार भएको सुनको भाउ जेठ १९ गते शुक्रबार आइपुग्दा तोलाको १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको हो । यसबीचमा आइतबार तोलामा २०० रुपैयाँले घटेको सुन सोमबार स्थिर रहँदा मंगलबार २ हजार ४०० रुपैयाँ, बुधबार १ हजार ५०० रुपैयाँ, बिहीबार ५०० रुपैयाँ र शुक्रबार तोलामा ८०० रुपैयाँले भाउ महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको अन्तिममा आइपुग्दा सुन तोलाको ५ हजारले बढेर छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ १ लाख १२ हजार ७५० रुपैयाँ कायम गरिएको छ ।  चाँदीको भाउ पनि एक सातामा ९० रुपैयाँले बढेको छ । जेठ १२ गतेृ शुक्रबार तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ जेठ १९ गते शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बजेट भाषणअघि लगातार ५ दिन गिरावट आएको सुनको भाउ सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर बढाएपछि वृद्धि हुँदै आएको छ । व्यवसायीहरुले यसअघि प्रति दशग्राम सुनमा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा बजेट पश्चात ४ हजार २५० रुपैयाँले वृद्धि भई १२ हजार ७५० रुपैयाँ पुगेको छ ।

यस्तै सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ घटेर प्रतिऔँस १ हजार ९४८ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस २३ दशमलव ६२ डलरमा कारोबार भइरहेको छ । हिजो अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ९७९ डलर तथा चाँदी २३ दशमलव ९२ डलरमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।