नेप्सेमा १७.३८ अंकको गिरावट, कारोबार २ अर्ब मुनी

0
Shares

आइतबारको ५३ अंकको वृद्धि भएको नेप्सेमा सोमबार १७.३८ अंकको गिरावट आएको छ । लगानीकर्ताहरुले तिर्दै आएका पाँच र साढे सात प्रतिशतको पुँजीगत लाभकरलाई अर्थ मन्त्रालयले अन्तिम करको रुपमा मान्यता दिएपछि खुला भएको बजार उच्च् अंकले बढेको थियो । सोमबार नै त्यसमा करेक्शन आएको हो ।

नेप्से दोहोरो अंकले घटेसँगै कारोबार पनि सोमबार १ अर्ब ९७ करोड सीमित भएकाे छ । सेयर बजार मापक नेप्से १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ । यसदिन कुल २७७ स्क्रिप्टका ५६ लाख २० हजार ३८१ कित्ता सेयर ३६ हजार ५६८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँमा समेटिएको हो ।

हिजो आइतबार ४५ लाख ५७ हजार कित्ता १६९ कित्ता सेयर ३१ हजार २५२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको थियो ।

सोमबार पनि शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३५३ रुपैयाँ बराबरको ४ लाख १४ हजार ६१६ कित्ता सेयर कारोबार भएको छ । यस्तै आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख ४५ हजार, चिलिमे जलविद्युत कम्पनीको ९ करोड १९ लाख ४२ हजार, सानिमा माई हाइड्रोपावरको ७ करोड ४७ लाख ६७ हजार, सोल्टी होटलको ७ करोड ३० लाख ९५ हजार रुपैयाँको कारोबार हुँदै शीर्ष पाँच ठूलो कारोबार हुने कम्पनीभित्र परेका छन् ।

सोमबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी अघिक घटेको छ ।

यस्तै सोमबार रिभर फल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर २९४.८० रुपैयाँ पुगेको छ । यस्तै ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को इकाईमूल्य ५.८८ प्रतिशत, गोर्खाज फाइनान्सको ५.२२, बिपीडब्लू लघुवित्त ४.०२ र मानुषी लघुवित्तको सेयरमूल्य ३.८४ प्रतिशतले बढ्दै घटेको बजारमा पनि ती कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् ।

उता सोमबारको बजारमा शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी ४.५० प्रतिशतका दरले गुमाएका छन् । कम्पनीको सेयर मूल्य ४६५ रुपैयाँमा झरेको छ । शिवम् सिमेन्टपछि जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.३४, मेरो माइक्रोफाइनान्सको ४.३०, कालिका लघुवित्त ४.१७ र बरुण हाइड्रोपावरको सेयरमा लगानी गरेकाले पनि ४.०५ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबारको बजारपछि समग्र बजार पुँजीकरण २७ खर्ब ७६ अर्ब ६९ करोड ६७ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।