नेप्से ७.२७ अंकले बढ्यो, २ अर्ब ३० करोडको कारोबार

0
Shares

बिहीबार सेयर बजार मापक सूचक नेप्से ७.२७ अंकले बढेको छ । यससँगै नेप्से १९३९ दशलमव ६१ बिन्दुमा पुगेको छ । यस दिन ठूला कारोबारको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.०५ र सेन्सेटिभ फ्लोट ०.२० अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५० अंकले बढेको छ ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा छोटो समयमा नै लाभांश प्राप्त गर्न सकिने भएकाले पनि लगानीकर्ताहरुले सेयर बजारमा लगानी वृद्धि गरेका हुन् । सरकारको पुँजीगत खर्च बढेपछि बैंकिङ्ग प्रणालीमा पछिल्ला दिनमा निक्षेप थपिने क्रम बढेको छ । निक्षेप थपिँदा कर्जाको विस्तार अपेक्षित हुन सकेको छैन । यसले बैंकहरुको सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्दै जान थालेको छ । कतिपय बैंकहरुले सेयर लगानीकर्ताहरुलाई मार्जिन कर्जा समेत दिन थालेका छन् । कर विवाद सुल्झिएर चालु आर्थिक वर्षको समाप्ति नजिकिएसँगै लगानीकर्ताहरु बजारप्रति सकारात्मक हुन थालेका हुन् ।

यसले पछिल्लो तीन दिन सेयर बजार लगातार बढेको छ । बिहीबार २७३ स्क्रिप्टको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर ४३ हजार १२८ पटकमा खरिद बिक्री हुँदा कारोबार रकम २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँ बराबर कारोबार भएको छ । बिहीबार कारोबारमा आएको १३ मध्ये ४ वटा उपसमुहगत परिसूचक घटेको छ भने बाँकी सबै बढेको छ । व्यापार सबैभन्दा बढी ५.५८ प्रतिशत, निर्जीवन बीमा समूहको ५.१६ प्रतिशत, जीवन बीमा ले बढेको हो । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ०.९३ प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधनमुलक ०.७८ प्रतिशत, हाइड्रोपावर ०.७७ प्रतिशत र बैंकिङ्ग ०.२६ प्रतिशतले घटेको छ ।

आजदेखि दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य १० प्रतिशत बढेर २८७ रुपैयाँ १० पैसा पुगेको हो । यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर ९.९६ प्रतिशत बढेर २२३ रुपैयाँ पुगेको छ । दोल्ती पावर र भूगोल इनर्जी दुबैको सेयर बिहीबारदेखि नै कारोबारमा आएको हो ।

यसैगरी मनकामना स्मार्ट लघुवित्तको ८.४८, सानिमा जीआईसी इन्स्योरेन्सको ७.३८, हिमालय एभरेष्ट इन्स्योरेन्सको ७ प्रतिशत, आईजीआई इन्स्योरेन्सको ६.५२ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ६.२४, बिपिडब्लू लघुवित्तको ६.०७, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ५.९० र साल्ट ट्रेडिङ्ग कर्पोरेसनको ५.७८ प्रतिशतले सेयरमूल्य बढेको छ ।

रिभर फल्स पावर कम्पनीको सेयरमूल्य बिहीबार सर्वाधिक ६.६४ प्रतिशत घटेर २९९ रुपैयाँ ७० पैसामा झरेको छ । त्यस्तै खप्तड लघुवित्तको ३.९४ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाईमूल्य ३.८९, सिटिजन म्युचुअल फन्ड–२ को ३.७७ र श्वेतगंगा हाइड्रोपावरको सेयरमुल्य ३.३९ प्रतिशतले घटेको छ ।

बिहीबारको बजारमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको र्वाधिक सेयर खरीद बिक्री भएको छ । कम्पनीको १० करोड २६ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९ करोड ६३ लाख, शिवम् सिमेन्टसको ८ करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ करोड २८ लाख र नेपाल टेलिकमको ८ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबारसँगै समग्र बजार पुँजीकरण २८ खर्ब ३४ अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।