ब्याज आम्दानीले टिकेको एचआईडिसीएलको नाफा

0
Shares

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को आम्दानी बैंक तथा वित्तीय संस्थाहरुमा राखिने मुदुदती निक्षेपमा निर्भर देखिएको छ ।

कम्पनीले गत आवमा गरेको खुद कमाइमध्ये ९९ प्रतिशतभन्दा धेरै ब्याजमा नै निर्भर रहेको देखिएको हो । कम्पनीको गत आवमा भएको कुल आम्दानी २ अर्ब १७ करोड ३७ लाख ८९ हजारमध्ये २ अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिने ब्याजबाट नै आम्दानी गरेको हो । कम्पनीको ब्याज आम्दानी ४०.६० प्रतिशत बढेर २ अर्ब १५ करोड बढी पुगेको हो । कम्पनीले १२ अर्ब ३५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा आवधिक निक्षेप राखेको छ ।

यस्तै कम्पनीले १ करोड रुपैयाँ कम्पनीको सम्झौताबाट आम्दानी गरेको छ भने लाभांश वापत १ करोड ३३ लाख ६० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै अन्य आम्दानी १ लाख १५ हजार छ । कम्पनीको लाभांश आम्दानी र अन्य आम्दानी भने अघिल्लो आवको तुलनामा घटेको हो । अघिल्लो आवमा लाभांश वापत १ करोड ४१ लाख ४८ हजार रुपैयाँ र अन्य आम्दानी ४० लाख ७९ हजार थियो ।

एचआईडिसीएलले चौथो त्रैमाससम्म १ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४४.५२ प्रतिशत धेरै हो । अघिल्लो आवमा ९५ करोड ७८ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ कम्पनीको जगेडा कोषमा १ अर्ब ९१ करोड २६ लाख ४९ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ४५ पैसा बढेर ६ रुपैयाँ ८ पैसा पुगेको छ । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १०८ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात ३०.२७ गुणा छ ।

परियोजनाहरुमा ९ अर्ब २८ करोड लगानी

गत आर्थिक वर्षसम्म आइपुग्दा एचआईडिसीएलले विभिन्न जलविद्युत परियोजनाहरुमा ९ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । जसमध्ये चौथो त्रैमासमा ५३ करोड थप ऋण प्रवाह गरिएको कम्पनीले जनाएको छ । अघिल्लो आवमा कम्पनीले जलविद्युत परियोजनाहरुमा ६ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ लगानी गरेको थियो ।

यस्तै १ करोड ६५ लाख रुपैयाँ ऋण असुली गरेको छ । निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजना तथा कम्पनीहरुमा कम्पनीले चौथो त्रैमासमा १० करोड सहित कुल ३ अर्ब २३ करोड स्वःपूँजी लगानी गरेको जनाएको छ ।

कम्पनीले सहायक कम्पनीमा १ अर्ब १ करोड रुपैयाँ लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।