हाथवेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँ दरमा निष्कासन गरेको आइपीओेमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित दरका २४ लाख २७ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियोे ।

आईपीओमा न्यूनतम २० देखि २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५० रुपैयाँ अंकित दरका २९ लाख २५ हजार कित्ता आईपीओ ल्याउन अनुमति पाएको थियो ।

कुल कित्तामध्ये कम्पनीले १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । यसैगरी २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

कम्पनीको आइपीओमा आइतबार साँझसम्म झण्डै १० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीको आइपीओमा १० लाख १० हजार ३४ जनाले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ मोबाइल एप तथा अनलाईन माध्यामको प्रयोग गरी मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु पनि सि–आस्बा प्रणाली मार्फत सेयरमा आवेदन दिन सकिन्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड कायम हुनेछ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।