मिड सोलु हाइड्रोको आईपीओमा शुक्रबारदेखि मात्र आवेदन दिन पाइने


मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओमा शुक्रबारदेखि मात्र आवेदन दिन सकिने छ । कम्पनीले बिहीबारदेखि नै आइपीओ बिक्रीमा ल्याउने तयारी गरेको भएपनि बिहीबार (आज) सार्वजनिक विदा परेकोले शुक्रबारदेखि मात्रै आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

यस्तै कम्पनीले १४ हजार ९६८ कित्ता सेयर कर्मचारीका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। भदौ २९ गतेदेखि आवेदन खुला हुने आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा भने निष्काशन अवधि असोज १२ गतेसम्म लम्बिने छ ।

आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

लगानी फिर्ता हुने अवधि ६.११ वर्ष

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ भने कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ ।

सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमती ३२ वर्ष ६ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.११ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ। आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारीक उत्पादन गरिरहेको छ। कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–११ बानेश्वरमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।