सिटिजन्स बैंकले लाभांश पारित गर्न डाक्यो साधारण सभा


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले असोज २६ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा डाकेको हो ।

बैंकको वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

यस्तै सभाले आर्थिक वर्ष २०७९\०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । साधारण सभा प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।