एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने म्याद थप


एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने समय थप गरिएको छ ।

क्यापिटलले मंसिर ४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको थियो । उक्त फण्डमा अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ ।

कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने छ । उक्त फण्ड अवधि ७ वर्षको हुनेछ ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ ।

सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।