अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९\०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८\०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०\०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।
आव २०७८\०७९मा देशभर ४५० मेट कफीको आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आव २०७९\०८० मा १० करोड रुपैयाँको मात्र आयात गरिएको थियो । यो करिब २२ करोड रुपैयाँले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए । उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए ।
हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।
यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।
यस्तै आव २०७८र०७९मा देशभर चियाको निर्यात तीन अर्ब ८० करोड रुपैयाँ रहेकामा आव २०७९र०८० मा करिब १४ करोड रुपैयाँले वृद्धि भएको छ । चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए ।
प्रतिक्रिया