उद्योग वाणिज्य महासंघमा अनावश्यक राजनीति, चुनाव नहुँदै अनेकौं तमासा !

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं अध्यक्ष पदका लागि पर्खिरहेका (प्रेसिडेन्ट इन वेटिङ) शेखर गोल्छाले साउन ६ गते मंगलबार बिहान ९ बजेर ४८ मिनेटमा तोकिएकै समयमा महासंघको निर्वाचन हुनेमा शंका व्यक्त गर्दे ट्वीट गरे । 

‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौती थपेको छ,” गोल्छाले ट्वीट गरे ।

गोल्छाको ट्वीटपछि महासंघमा आवद्ध उद्योग व्यवसायीहरुमा फेरि पनि निर्वाचन रोकिने हो कि भन्ने चिन्ता र चासो बढेको देखिन्छ । यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सारेको थियो ।

सरकारले असार १ गतेदेखि क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारणसभा बोलाएको छ । यसबीचमा महासंघको प्रेसिडेन्ट इन वेटिङ गोल्छाको तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरिएको ट्वीट आएपछि गोल्छा समूहलाई चुनाव सार्ने खेलमा लागेको आरोपहरु आउन थालेको छ ।

सरकारले साउन ६ गते रातिदेखि लागू हुने गरी विधिवत रुपमा लकडाउन अन्त्य गरेपछि महासंघको चुनाब नरोकिने विश्वास उद्योगी व्यवसायीहरुमा छ । मन्त्रिपषिदको निर्णयहरु सुनाउँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जोखिम कायम रहेका केही सीमित गतिविधिमा रोक लगाउने र अन्य सेवाहरु क्रमश संचालन गर्दै जाने जानकारी गराएका थिए ।

तर, सरकारले सामूहिक भोज पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाबाहेक होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ, ट्राभल र पर्वतारोहणका गतिविधि पनि साउन १५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले अझै पनि भोज, पार्टी, सेमिनार, वा अन्य सामूहिक भेलाका लागि अनुमति नदिएकाले व्यवसायीहरुमा महासंघको चुनाव हुने– नहुनेमा दुविधा भने अझै कायमै देखिन्छ ।

गोल्छाको ट्वीट अनि सरकारले पनि प्रष्टसँग सामूहिक भेला खुला नगराएकाले उद्योगी व्यवसायीहरुमा महासंघको चुनाव हुने नहुने दुविधा भएकै बेला निर्मल पौडेल अध्यक्ष रहेको वेलकम एड्भटाइजिङले असार ६ गते राति ९ः४३ बजे ‘लकडाउन हट्यो, उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषणको काम भएपछि महासंघभित्रको राजनीति छताछुल्ल भएको छ ।

उक्त विज्ञप्ति मार्फत पनि घुमाउरो पारामा गोल्छा टिम अर्थात किशोर प्रधान समूह महासंघको निर्वाचन सार्ने दाउमा रहेको आरोप लगाइएको छ भने चन्द्र ढकालको जित निश्चित भएको आशयको समाचार एजेन्सीको सहायतमा सञ्चारमाध्यमहरुमा पुर्याइएको हो ।

वेलकमबाट जारी गरिएको समाचार मूलक सामग्रीमा सरकारले लकडाउन पूर्ण रुपमा हटाएको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि महासंघको साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएको उल्लेख गरिएको छ

यता उद्योग वाणिज्य महासंघले पदाधिकारीहरको नाम जोडेर अनाधिकृत विज्ञप्ति जारी गरिएको प्रतिगम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघले आफ्नो भनी साउन ६ गते राति प्रकाशित विज्ञप्तिको बारेमा गम्भीर ध्यानाकर्षण भएको भन्दै साउन ७ गते बुधबार दिउँसो पौने २ बजे खण्डन गरेको छ । जसमा अघिल्लो दिन विज्ञप्ति सर्कुलर गर्ने वेलकम एडर्भटाइजिङ एण्ड मार्केटिङकी कर्मचारी मोनिका अधिकारीलाई कारबाही गर्न समेत माग गरिएको छ ।

महासंघको चुनाव नजिकिँदै गर्दा दुईपक्षबीचको आन्तरिक राजनीति पनि धरातलमा आउन थालेको छ । महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकालले निर्वाचन सार्ने खेल सकिएको बताएका छन् ।

उनले महासंघको जिम्मेवार तहमा रहेका व्यक्तिहरु निर्वाचन सार्ने बहाना खोजिरहेको बेलामा सरकारले लकडाउन खोलेर महासंघको निर्वाचन तोकिएको मितिमा नै गर्ने वातावरण बनाएको नोटबजारसँगको कुराकानीमा बताए । उनले महासंघका केही केन्द्रीय सदस्यहरुले अवैधानिक ढंगबाट महासंघलाई अनीर्णत बनाएर समय लम्ब्याउने खेलमा लागेको समेत आरोप लगाए । ढकालले चुनावमा आफ्नो जित सुनिश्चित नहुने देखिएपछि गोल्छा समूहले समय टार्दै जान खोजेको समेत बताए ।

यता वरिष्ठ उपाध्यक्ष उम्मेदवार किशोर प्रधान समूहले कोरोना भाइरस संक्रमण रोगथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल र मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर साउन २६ र २७ गते महासंघको साधारण सभा आयोजना गर्न स्वीकृति माग गरिसकेको जानकारी दिएको छ ।

किशोर प्रधान समूहका एक सदस्य एवं उद्योग वाणिज्य संघ प्रदेश नं २ का अध्यक्ष नरेन्द्रकुमार खड्का सरकारको निर्णयले उद्योगी व्यवसायीमा दुविधा पैदा गरे पनि निर्वाचन सार्नुपर्ने कुनै कारण नरहेको बताउँछन् । उनले हिजो सरकारले सार्वजनिक गरेको निर्णयमा सभा, सम्मेलन र भेला गर्न अनुमति नदिइएकाले व्यवसायीमा दुविधा देखिएको हो । यस विषयमा सरकारले अझै प्रष्ट पार्ला । तर, सरकारको आदेशबिना साधारण सभा गर्न कठिन हुने हुँदा अनुकूल वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने हो । आशा गरौं सरकारले तोकिएको समयमा नै निर्वाचन गर्न अनुमति दिनेछ ।

यता उद्योग वाणिज्य महासंघले साउन ७ गते जारी गरेको विज्ञप्तिमा पनि वार्षिक साधारण सभा आयोजनाका लागि नेपाल सरकारबाट स्वीकृति लिने प्रक्रिया अघि बढाएको र सरकारबाट तदनुरुपको निर्देशन प्राप्त हुनासाथ वार्षिक साधारण सभा सम्पन्न गर्ने तयारीमा रहेको बेहोरा स्पष्ट पार्दछ भनिएको छ ।

त्यसैगरी चुनाव सार्ने आरोप लगाउनेप्रति लक्षित गर्दै साउन ७ गते बुधबार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गर्ने इच्छा भन्दा बढी सदस्य साथीहरु प्रतिको सुरक्षा दायित्वले घच्घच्याई रहेको भन्दै ट्वीट गरेका छन् । उनले ट्वीट मार्फत भनेका छन्, “लकडाउन खुल्दै गर्दा देशैभरिका १ हजार व्यवसायीलाई एकै स्थानमा जम्मा गर्दा कतै सुरक्षा जोखिम होला कि भन्ने नैतिक प्रश्नले पिरोलेको छ, मलाई तर यसलाई अर्कै रंग दिन खोजिएको देख्दा दुःख लाग्छ ।”

महासंघको ५४ औं साधारण सभामा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यो निर्वाचनले ६९ सदस्यीय कार्य समिति चयन गर्नेछ ।