नेपाल क्लियरिङ्ग हाउसबाट २ करोड बढी संख्यामा भुक्तानी कारोबार, २२.२०% वृद्धि

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले गत आर्थिक वर्षमा २०७६।७७ मा कूल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको छ । जुन अघिल्लो वर्षका तुलनामा २२.२० प्रतिशतले बढी हो ।

हाउका अनुसार विभिन्न भुक्तानी प्रणालीहरु मार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा नेपाली रुपैयाँमा ९६ खर्ब ८ अर्ब रुपैयाँको कारोबार भएको छ। यस्तै ३२ करोड रुपैयाँ बराबरको अमेरिकी डलर, २३.८ करोड युरो र १७.१० पाउण्ड स्टर्लिङ डलरको कारोबार भएको छ।

राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धी दर ५८.८ प्रतिशत रहेको छ। हाल एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत ३६ अर्ब २० करोड बराबरको ७७ हजार ११५ भुक्तानी कारोबार हुने गरेका छन्।

एनसिएचएलका एनसिएचएल-इसीसी, आईपीएस र कनेक्ट आइपीएस लगायतका विभिन्न भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु संचालनमा रहेका छन्।

यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरटीजिएस पनि संचालन गर्दै आएको छ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआई मार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी पीएसओ लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।

यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, थर्ड पार्टी भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत वर्ष २ खर्ब १९ अर्ब बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन एनसिएचएलका प्रणालीहरु मार्फत भएका छन् ।

लकडाउनको अवस्थामा पनि एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाइ नन क्यास कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो । लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका थिए ।

एनसीएचएल-ईसीसी र एनसीएचएल-आइपीएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आइपीएस मार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ । यसै कारणले गर्दा लकडाउन अघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आइपीएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन साउन २०७७ बाट एनसिएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ ।

नेपाल राष्ट्र बैंक सँगै बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसिएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आफ्ना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ । यसमा बैंक वित्तिय संस्था, पीएसपी पीएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध–सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष नेप्से तथा अन्य विभिन्न संस्थाहरु लगायत १०२ सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति: ८ साउन २०७७, बिहीबार  ०९ : १३ बजे