हाइड्रोको आईपीओमा लगानी गर्नेहरु अधिकांश घाटामा, एक कित्तामै ४५ रुपैयाँसम्म नोक्सान

0
Shares

जलविद्युत कम्पनीहरुको साधारण शेयरमा लगानी गर्ने अधिकांश लगानीकर्ताहरु घाटामा रहेको पाइएको छ । दोस्रो बजारमा सूचीकृत ३३ कम्पनीमध्ये १५ कम्पनीको शेयर मूल्य आईपीओभन्दा पनि तल छ ।

साउन १५ गते बिहीबारको दोस्रो बजारमा भएको कारोबारको तथ्यांकअनुसार १५ कम्पनीको शेयरमूल्य १०० रुपैयाँभन्दा तल छ । जसमा सबैभन्दा कम शेयरमूल्य खानीखोला हाइड्रोपावर कम्पनीको ५५ रुपैयाँ छ। यस कम्पनीमा लगानी गरेका लगानीकर्ताले आजको दिनमा एक कित्तामा ४५ रुपैयाँ नोक्सानी ब्यहोरेका छन्।

यस्तै खानीखोलासहित अन्य ५ कम्पनीको शेयरमूल्य ६० रुपैयाँ तल छ । जसमध्ये नेशनल हाइड्रोको ५६, आँखुखोला र दिव्यश्वरी हाइड्रोको ५७ रुपैयाँ र युनियन हाइड्रोको ६० रुपैयाँ शेयर मूल्य छ ।

पछिल्लो दुई कारोबार दिनमा हाइड्रो कम्पनीको शेयर मूल्यमा सुधार आएपछि यी कम्पनीहरु शेयर भाउसमेत केही माथि पुगेको हो ।

ऊर्जामन्त्रालयले संकटग्रस्त जलविद्युत आयोजनाका समस्या समाधान गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि राष्ट्र बैंकमा पठाउन अनुरोध गर्दै अर्थमन्त्रालाई अनुरोध गरेपछि जलविद्युत कम्पनीहरुको शेयर भाउमा सुधार आउन थालेको हो।

बिहीबारसम्मको तथ्यांकअनुसार १ सय रुपैयाँभन्दा बढी भाउ हुने तीन कम्पनीको शेयर मूल्य २ रुपैयाँ मात्र माथि छ । अंकित मूल्यभन्दा माथि शेयर भाउ हुने ९ कम्पनीहरुको शेयरमूल्य समेत १२१ रुपैयाँ भन्दा कम छ । चार कम्पनीको शेयरमूल्य १३० देखि १५० को बीचमा छ भने एउटा कम्पनीको शेयरमूल्य १७२ रुपैयाँ छ । २ सय रुपैयाँमाथि शेयर मूल्य हुने चार कम्पनी छन् भने ३ सय रुपैयाँमाथि शेयर मूल्य हुने २ कम्पनी मात्र  छन् । सबैभन्दा धेरै शेयर मूल्य भएको चिलिमेको शेयर भाउ प्रतिकित्ता ३९५ रुपैयाँ छ । दोस्रोमा रहेको बुटवल पावरको ३५८ रुपैयाँ छ ।

अंकित मूल्यभन्दा तल शेयरमूल्य झर्नुमा कम्पनीको व्यवस्थापकीय क्षमता, कम्पनीले गर्दै आएको प्रगति, नाफा नोक्सानको अवस्था जस्ता विभिन्न कारणहरु पाइन्छ। शेयर बजारमा भएका सबै कम्पनीहरुबाट नाफा कमाउन नसकिने हुनाले लगानी गर्दा उपयुक्त कम्पनी छनौट गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

माथिका कम्पनीहरुभित्रबाटै पनि कम्पनी विश्लेषण गरी दीर्घकालीन लगानी गर्नका लागि भने अवसर पनि देखिन्छ। आगामी दिनमा कम्पनीले गर्ने प्रगतिसँगै कम्पनीको शेयरमूल्य पनि बढ्दै जाने हुन्छ। तर खराब कम्पनीमा गरिने लगानीमा जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले लगानी गर्नुपूर्व भने आफुले लगानी गर्ने कम्पनीको समग्र अवस्थामा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्छ,

अर्कोतर्फ प्राथमिक शेयर (आईपीओ) को मूल्यभन्दा सस्तो मूल्यमा दोेस्रो बजारबाटै शेयर खरीद गर्न पाउनु पनि अर्को अवसर पनि हो। त्यसका लागि राम्रो कम्पनी छनौट गर्न भने त्यति सजिलो छैन।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।