बैंकिङ प्रणालीको औसत सीसीडी अनुपात ७२ प्रतिशत, कर्जा प्रवाह ठप्पै

0
Shares

बैंकहरुमा कर्जाको माग नहुने र निक्षेप थपिने क्रम बढेपछि पूँजी, कर्जा तथा निक्षेप (सीसीडी) अनुपात ७२ प्रतिशतमा सीमित भएको छ ।
कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प भएपछि कर्जाको माग नबढ्दा सीसीडी अनुपात न्यून विन्दुमा रहेको हो ।

गत आर्थिक वर्षमा बैंकहरुको कर्जा निक्षेप अनुपात ८० प्रतिशत भित्र राख्नुपर्ने व्यवस्था थियो । सीसीडी रेसियोका कारण कर्जाको माग उच्च हुदाँ पनि लगानी गर्न नपाएको गुनासो बैंकरहरुले गरेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ८० प्रतिशतको सीमालाई वढाएर ८५ पु¥याएको छ ।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको साउन १६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीसीडी अनुपात ७२.०५ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । साउन १६ गतेको सीसीडी अनुपात अनुसार बैंकहरुले अझै १३ प्रतिशत कर्जा लगानी बढाउन सक्ने अवस्था छ ।

बैंकहरुमा कर्जाको माग नरहेको पुरानो कर्जा भुक्तानी गर्ने क्रम जारी रहेको हुनाले पनि सीसीडी अनुपात ७२ प्रतिशतको हाराहारीमा आएको हो । गत आर्थिक वर्षमा कर्जाको माग उच्च हुँदा अधिकासं बैंकहरुको सीसीडी अनुपा ७९ प्रतिशतसम्म छ ।

चालु आर्थिक वर्षको साउन महिनामा दोस्रो साता अर्थात १६ गतेसम्ममा २७ वाणिज्य बैंकहरुमा २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप थपिएको छ भने एक अर्ब कर्जा घटेको छ ।

सामान्यतयाः आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा कर्जाको माग बढ्नु पर्नेमा कोरोनाका कारण उद्योग- ब्यापार, व्यवसाय पूर्ववत रुपमा सञ्चालन हुन नसकेको अवस्था छ । त्यसले गर्दा पनि कर्जाको माग नदेखिएको हो । लकडाउनका अवधिमा थपिएको निक्षेप लकडाउन खुकुलो भए पनि कर्जाको माग नहुने र निक्षेप बढ्ने हुदा बैंकहरुमा अधिक तरलता रहेको छ ।

चालु आर्थिक वर्षको साउन १६ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।