एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ १ लाख बढी आवेदकले नपाउने, सवा चार लाख बढीले गरे आवेदन


विगत ६ दिनदेखि सर्वसाधारणमा शेयर निष्काशन गरिरहेको एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण शेयरमा सवा ४ लाखभन्दा बढीले आवेदन गरेका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार कम्पनीको शेयरमा ४ लाख २८ हजार १५३ वटा आवेदन परेको छ । यो प्रारम्भिक तथ्यांक मात्र हो ।

यसै तथ्यांकका आधारमा हेर्दा १ लाख १२ हजारभन्दा बढी आवेदकले १० कित्ता शेयर पनि नपाउने भएका छन् । कम्पनीले ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । १० कित्ताका दरले शेयर बाँडफाँड गर्दा पनि ३ लाख १६ हजार १८ जनाले मात्र शेयर पाउँछन् । जबकी निष्काशन बन्द हुँदा ४ लाख २८ हजार १५३ जनाले शेयरमा आवेदन गरेका छन् ।

रद्द हुने आवेदनको संख्या घटाएर गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा पनि कम्तीमा १ लाख जनाको हात रित्तो हुनसक्छ ।

बुधबार साँझ शेयर निष्काशन बन्द हुँदासम्ममा लगानीकर्ताहरुले कम्पनीको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ता शेयर माग गरेका छन् । माग भएको शेयर संख्याका आधारमा हेर्दा अधिकांश लगानीकर्ताहरुले १० कित्ताभन्दा धेरै संख्यामा शेयर माग गरेको देखिन्छ ।

कम्पनीले कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड नाघ्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको विकासमा योगदान पुर्याउने कम्पनीको उद्देश्य छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । जसमा झण्डै ८ सय जनाको लगानी छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।

कम्पनीले माथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (७३ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ । आगामी दिनमा जलविद्युत बाहेकका अन्य क्षेत्रमा पनि लगानी बढाउँदै लैजाने लक्ष्य कम्पनीले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।