उद्योग व्यवसायले पुनर्कर्जा पाए पुरानै अवस्थामा रोजगार दिन सक्ने

0
Shares

अधिकांश उद्योग/व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरेअनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने जनाएका छन।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती भएको छ । कटौती भएका मध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै छन् ।  होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघुउद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले जनाएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । यसका साथै कर्मचारी/कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ ।

तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्। यस्तै, ठूला उद्योग/व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ ।

 सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरेअनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा आफ्ना कर्मचारी/कामदारलाई पूर्ण रुपमा निरन्तरता दिन सकिने बताउनेमा मझौला, घरेलु र साना उद्योग/व्यवसायहरु क्रमशः पहिलो, दोस्रो र तेस्रोमा रहेका समेत केन्द्रीय बैंकले जनाएको छ ।

सर्वेक्षणमा सहभागी एक चौथाइभन्दा बढी (२५.९ प्रतिशत) उद्योग/व्यवसायीले आंशिक रुपमा मात्र निरन्तरता दिन सकिने बताएका छन् भने ४.२ प्रतिशतले सो सुविधा प्राप्त गरे तापनि कर्मचारी/कामदारलाई निरन्तरता दिन नसकिने बताएका छन् ।

बन्दाबन्दीपछि वित्तीय साधन परिचालनका लागि सर्वेक्षणमा सहभागी करिब ८० प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने बताएका छन् । वित्तीय स्रोत व्यवस्थापनका लागि दोस्रो, तेस्रो र चौथो विकल्पको रुपमा क्रमशः खर्च घटाउने (कर्मचारी/तलब कटौती गर्ने), सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने रहेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी तीन चौथाइभन्दा बढी (७७.२ प्रतिशत) उद्योग-व्यवसायहरुले तलब/ज्याला, घरभाडा र बैंक किस्ता जस्ता सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव रहनु मुख्य समस्याको रुपमा रहेको बताएका छन् । त्यसपछि क्रमशः उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।