एनएमबि बैंकलाई कञ्चन डेभलपमेण्ट बैंक एक्वायर गर्न राष्ट्र बैंकको अन्तिम स्वीकृति


नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई कञ्चन डेभलपमेण्ट बैंक विलय गर्न अन्तिम स्वीकृति दिएको छ । बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले दुई बैंकको विलय प्रकृयालाई अन्तिम स्वीकृति दिने निर्णय भएको हो ।

राष्ट्र बैंक स्रोतले नोटबजारसँगको कुराकानीमा भन्यो, ‘एनएमबि र कञ्चन बैंकले गरेको सहमती अनुसार एनएमबि बैंकको १०० कित्ता शेयरबराबर कञ्चनको ८५ कित्ताको अनुपातमा विलय गर्न अन्तिम स्वीकृति दिने निर्णय भएको छ ।’

दुवै बैंकको साधारण सभाले कञ्चन डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको शेयर आदान-प्रदान अनुपातलाई साधारण सभाबाट अनुमोदन गरेका थिए । साधारण सभाबाट विलय प्रस्ताव पारित गराएर गत असार तेस्रो साता अन्तिम स्वीकृतिका लागि दुवै बैंक केन्द्रीय बैंक पुगेका थिए ।

गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेकोमा गत जेठ २५ गते आइतबार अन्तिम हस्ताक्षर गरेका थिए ।

एनएमबि बैंकले पनि राष्ट्र बैंकले विलयको अन्तिम स्वीकृति दिएको बताउँदै आयतबारसम्मका स्वीकृतिको पत्र पाउने अपेक्षा गरिएको बताएको छ । बैंकले छिट्टै एकीकृत कारोबार सुरु गरी शेयर सूचीकरण प्रकृया अघि बढाउने जनाएको छ । ‘हामी छिट्टै एकीकृत कारोबार सुरु गरेर भदौको तेस्रो साता भित्र दोस्रो बजारमा कञ्चनको शेयरलाई एनएमबिमा रुपान्तरण गरी सूचीकरण गराउने योजनामा छौं’ बैंकका एक अधिकारीले नोटबजारसँग भने ।

अब कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले १०० कित्ता बराबर एनएमबी बैंकको ८५ कित्ता शेयर पाउने छन् ।

सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति बनाएको कञ्चन प्राप्तिपछि एनएमबि बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड पुग्नेछ भने जगेडा कोषको आकार ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न सहज भएकोे र त्यसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा उपलब्ध गराउन मद्दत पुगेको एनएमबि बैंकले जनाएको छ । कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

यसअघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदान प्रदान गरी एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरे पनि अन्तत एनएमबि बैंकले खरिद गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।