सुनसान सहुलियत पसल, उपभोक्ता भन्छन् – नाम मात्रको भयो


सरकारले सर्वसाधारणको सहजताका लागि भन्दै देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गरेको छ । सरकारले चाडवाडको समयमा सर्वसाधारणलाई लक्षित गरेर पसल सञ्चालन गरेपनि त्यसको प्रभावकारी भने सुन्य देखिएको उपभोक्ता बताउँछन् ।

भक्तपुर ठिमी बस्ने सन्जु पोखरेल सहुलियत पसल खुलेको छ भन्ने थाहा पाएर सिर्जनानगरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसल पुगिन् । सहुलियत पसलमा बिक्री गर्ने भन्दा बाहेकका कोही ग्राहक थिएनन् । धेरै नै सस्तो होला भनेर त्यहाँँ पुगेकी पोखरेले भनेजती सामान पनि पाइनन् ।

“दसैँमा सबैभन्दा धेरै चाहिने चिनी हो,” उनले भनिन्,“ चिनी पनि ४ केजी मात्र दिने रे ! नुन २ पाकेट मात्रै रे । यस्तो त भएन नि । दसैँको लागि पुग्ने त लिन पाउनु पर्यो नि ।” नोटबजारसंगको कुराकानीका क्रममा उनले भनिन् ।

दसैँको लागि तेल र चिनि धेरै चाहिने भन्दै उनले यी सामानमा चाँहि कोटा लागु गर्नु ठिक नभएको बताइन् । “सहुलियत पसल ठाउँठाउँमा हुनुपर्ने बताउँदै उनले भनिन्,“भक्तपुरमा एउटा मात्रै सहुलियत पसल छ, ठिमीदेखि आउँदा गाडि भाडा र समय दुवै बर्बाद भयो ।” यसको साटो उपत्यकामा भएको होलसेल पसलहरुलाई नै व्यवस्थित गरेर सहुलियत बनाइए उपभोक्ताले दुख नपाउने उनको सुझाब छ ।

यता, काभ्रे घर भएका सुदर्शन खरेल सहुलियत पसल एकदमै ठिक र पहिलाको भन्दा व्यवस्थित भएको बताउँछन् । पहिलाको जस्तो एक किलो चिनि किन्न घण्टौँ लाइन बस्नु पर्ने बाध्यता हटेको र सजिलै सामान किन्न पाएकोमा खरेलले खुसी व्यक्त गरे । सरकारले चाडवाडमा दिएको यो सहुलियतले आम उपभोक्ताले सहजता भएको र कालोबजारी केही हदसम्म नियन्त्रण हुने उनको दाबी छ । उनी आफुलाई चाहिने सबै सामान त्यहीँबाट किन्ने सोच बनाएका खरेलले मजाक गर्दै भने, “खसि, च्याङग्रा पनि छ भन्ने सुनेको थिए तर रहेनछ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान सहितको सहभागितामा सञ्चालन भएको सुपथ मूल्य पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी, बोका र च्याङ्ग्रा लगायतको बिक्री गरिनेछ । चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेल लगायतका सामाग्री छन् ।

काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सिर्जनानगरमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी\गेडागुडी, फापर दानामा प्रतिकिलो सात रुपैयाँ छुट पाउने सिर्जनानगरको सुपथ पसलकी इन्चार्ज कल्पना ढुग्गानाले बताइन् ।

यो वर्ष अघिल्लो वर्षहरुमा जस्तो चिनि चामलको अभाव नहुने उनको भनाइ छ । कुनै पनि सामान थोरै नभएको भन्दै उनले भनिन्, “ चिनि र नुनमा चाँहि हामीले कोटा छुट्टाएका छौँ । व्यावारीहरुले नै यहाँबाट लग्ने अनि महंगोमा बेच्ने गरेकोले कोटा सिस्टम लागु गरिएको हो । ”

यद्यपी एक जनालाई ४ किलोसम्म चिनी बिक्री गर्दै आएको उनको भनाइ छ । नुन भने एकजनालाई दुई पोकासम्म दिने गरिएको ढुग्गानाले बताइन् । बिहान बेलुका मान्छेहरुको चाप भएतापनि दिउँसो भने खाली नै हुने गरेको ढुग्गानाको भनाइ छ ।

साल्टले उपत्यकाका ११ स्थानबाट छुट र आवश्यकता अनुसार घुम्ती पसल पनि सञ्चालन गरेको साल्ट ट्रेडिङका सह–महाप्रबन्धक कुमार राजभण्डारीले भनाई छ । उपत्यकाबाहेक २१ जिल्लामा रहेको आउटलेटबाट पनि छुट दिने साल्टले जनाएको छ ।

सहुलियत पसल र अन्य खुद्रा पसलको मूल्य भिन्नता

अन्य खुद्रा पसलहरुको तुलनामा सहुलियत पसलमा चिनीको मूल्य प्रतिकेजी १८ रुपैयाँ सस्तो छ । अन्य पसलहरुमा प्रतिपकलो १२० रुपैयाँ पर्ने चिनि सरकारले सञ्चालन गरेको सहुलियत पसलमा १०२ रुपैयाँमा किनबेच भइरहेको छ । अन्य पसलहरुमा प्रतिप्याकेट ३० रुपैयाँ रहेको आयो नुन सहुलियत पसलमा २४ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, अन्य ठाउँमा २७०० रुपैयाँ पर्ने स्टिम जिरा मसिनो चामल सहुलियत पसलमा २६०० रुपैयाँ, १५० रुपैयाँ पर्ने ताइचिन चिउरा १३५ रुपैयाँ, २९० रुपैयाँ पर्ने नेपाली राजमा २७० रुपैयाँ, २१५ रुपैयाँ पर्ने सोयाबिन तेल २०५ रुपैयाँ तोकिएको छ ।

हेर्नुस् मूल्य सूची