चाड र कृषि कर्म

पहेँलपुर फाँटहरू र ‘फेस्टिभ मुड’सँगै मुरी भित्र्याउने चटारो [तस्बिरहरू]


काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ बिदा भइसकेको छ । दसैँका लागि सहर रित्तै बनाएर गाउँ फर्किएका जागिरे र विद्यार्थीहरू फेरि गाउँ रित्तै बनाएर सहर भर्न आइसकेका छन् ।

यो वर्षको दसैँ प्राकृतिक विपत्तिले केही खल्लो बनायो । सयौँ परिवारका मानिस खाली निधार बस्नुपर्‍यो । धेरै परिवार निधारमा टीका र कानमा जमरा सिउरेर हिँड्नुपर्ने बेलामा एकसरो कपडा बेरेर कोरामा बस्नुपर्ने बाध्यतामा पुगे ।

तैपनि बाँकी परिवारले दसैँ मनाए, भत्के/बिग्रेको बाटो हुँदै दोब्बर/तेब्बर समय लगाएर घर गए, र त्यसैगरी फर्किए पनि ।

अब दोस्रो ठुलो चाड तिहार आँगनमै आइसकेको छ । सहरियाहरू तिहारका लागि सपिङ गर्ने र योजना बनाउन व्यस्त भइसकेका छन् । व्यापारीहरू तिहार लक्षित सामानको जोहो गरेर ग्राहकको पर्खाइमा बसिरहेका छन् ।

दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीकाको निम्ता दिन थालिसके भने दाजुभाइहरू दिदीबहिनीलाई दक्षिणाको जोहो लागेका छन् ।

सबैतिर फेस्टिभ मुडले छपक्कै छोपेका बेला किसानलाई भने असार–साउनमा रोपेको मानोबाट मुरी भित्र्याउने चटारो परेको छ । गत ११ र १२ असोजको बाढी र पहिरोले बाँकी राखेको धान समेट्ने चिन्ता र व्यस्तता किसानलाई छ ।

अधिकांश स्थानमा धान पाकिसकेको छ । केही स्थानमा त दसैँअघि नै धान भित्र्याइसकिएको छ भने अधिकांश स्थानमा भने तिहारअघि नै धान भित्र्याइसक्नुपर्ने हतारो देखिन्छ ।

मौसम अलि चिसो भएको ठाउँमा भने तिहारपछि मात्रै धान पाक्ने भएकाले त्यस क्षेत्रका किसान भने तिहारमा त्यति हतारोमा देखिँदैनन् ।

यतिबेला तिहार नजिकिँदै गर्दा बारीमा ढकमक्क फुलेका फूलसँगै पहेँलपुर भएका धान खेतका फाँटले तिहारलाई साँच्चिकै स्वागत गरिरहेको भान हुन्छ ।

किसानलाई धान भित्र्याउने हतारो त छँदै छ । किनकि वर्षभरि खाने अन्न भित्र्याउने बेला यही हो । अर्कातिर वर्षमै एक पटक आउने पर्व मनाउनुपर्ने उत्साह र बाध्यता पनि छ ।

त्यसकारण पनि बरु केही काँचोकचिलो नै भए पनि तिहारअघि नै धान भित्र्याइसकेर तिहारमा फुर्सदिलो भएर चाड मनाउने दाउमा अधिकांश किसान देखिन्छन् ।

केही तस्बिरमा हेरौँ तिहारको मुखमा पहेँलपुर भएका फाँट र किसानको व्यस्तता ।

तस्बिरहरू सबै : रासस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, भाइरल रोड छेउस्थित खेतमा पाकेर पहेँलपुर भएको धानबाली।
बागलुङ नगरपालिका–४ कुडुँले फाँटमा बेमौसमी पानीले ढलेको धानबाली ।
जुम्लाको चन्दननाथ नगरपालिका–७ का किसान घर लैजान परम्परागत तरिकाले मार्सी धान झाँर्दै ।
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका महिला दूधे बालकलाई पिठयुँमा बोकेर धान काट्दै ।
पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा झुल्दै गरेको धानखेत ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुन्डुमा पाकेर पहेँलपुर हुँदै गरेको धानबाली ।
धनगढी उपमहानगरपालिका– २ कृष्णनगरमा मेसिनको सहायतले धान काट्दै किसान ।
सिम्ता गाउँपालिकाको प्रशासकीय केन्द्र जामुनेमा लगाइएको धानबाली ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नं ४ र ५ मा रहेको तिला नदीको किनारमा रहेको मार्सीधान खेती गरेकोको फाँट ।
बागलुङको ढोरपाटन नगरपालिका–५ स्थित अधिकारीचौर गाउँ । खेतैखेतले घेरिएको यस गाउँका अधिकांश किसान तरकारी खेतीमा आबद्ध छन् ।
खाँदबारी-किमाथांका सडकखण्ड अन्तर्गत संखुवासभाको मानेभञ्ज्याङ आसपासको हरियाली धान खेत ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान बिहीबार खेतमा काटेको धानका मुठा बाँध्दै ।
जुम्लाको तातोपानी गाउँपालिका-४ का स्थानीय किसान खेतमा मार्सीधान काट्दै । यहाँका किसानलाई अहिले गाउँघरमा धान काट्न र भित्र्याउन भ्याइनभ्याई भएको छ।
सुर्खेतको वीरेन्द्रनगर ४ मुलपानीमा पाकेर पहेँलपुर भएको धानबाली ।
सुर्खेतको वीरेन्द्रनगर ४ मुलपानीमा पाकेर पहेँलपुर भएको धानबाली ।
घोराही उपमहानगरपालिका–१६ बयरबटुवामा थ्रेसरबाट धान झार्दै स्थानीय किसान।
मकवानपुरको चित्लाङमा धान भित्र्याउन खेतमा व्यस्त किसान ।
बडादसैँ सकिएसँगै मकवानपुरको चित्लाङमा धान भित्र्याउन खेतमा व्यस्त किसान ।
कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषक ।

प्रकाशित मिति: ५ कात्तिक २०८१, सोमबार  १३ : २९ बजे