कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिरहेका छन् । कर्मचारीले आलोपालो गर्दै सेवा दिँदै आएको भए पनि शेयर बजार र बीमा क्षेत्रका कारोबारले गर्दा बैंकमा सेवाग्राहीको भीड लागेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सीमित कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ । सरकारले भने ५० प्रतिशत कर्मचारीबाट मात्र सार्वजनिक सेवा प्रदान गर्न सम्बद्ध संस्थाहरुलाई निर्देशन दिएको छ । तर शेयर बजार र बीमा क्षेत्रको गतिविधिमा कुनै संकुचन नआएपछि बैंकमा सेवाग्राहीको उपस्थिति बाक्लो भएको हो ।
नोटबजारसँग कुरा गर्दै एक वाणिज्य बैंकका उच्च तहका कर्मचारीले आम सेवाग्राहीको चहलपहल घटे पनि बीमाका अभिकर्ता, कर्मचारी र शेयर लगानीकर्ताको संख्यामा कुनै कमी नआएको बताए । “बैंकका कर्मचारीलाई मात्र कोरोना लाग्ने अनि शेयर बजार र बीमा क्षेत्रका मानिसलाई कोरोना नलाग्ने भन्ने त होइन होला,” उनले भने, “नियामक निकायहरुले किन मौन बसेका हुन् ?”
यसैबीच बिहीबारदेखि लागू हुने गरी महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गर्दै कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । अरु बीमा कम्पनीहरुले भने बुधबारसम्म कर्मचारी हेरफेरका सम्बन्धमा कुनै व्यवस्था गरेका छैनन् ।
“सबैजसो बीमा कम्पनीहरुले शतप्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिरहेका छन् । अर्कातिर शेयर बजारका लगानीकर्ताको उपस्थिति पनि उत्तिकै छ, धितोपत्र बोर्ड र बीमा समितिले जोखिमलाई ध्यानमा राखेर केही न केही सम्बोधन गर्नुपर्छ” अर्का एक बैंकरले नोटबजारसँगको कुराकानीमा भने ।
उता बीमा कम्पनीहरु भने सुरक्षा व्यवस्थालाई चुस्त पारेर सबै कर्मचारीहरुलाई कार्यालय बोलाइएको बताउने गरेका छन् । एक बीमा कम्पनीका उच्च तहका कर्मचारी भन्छन्, “हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर मात्र कर्मचारीलाई बोलाएका छौं । तत्काल कर्मचारी हेरफेर गरिहाल्ने सोचमा छैनौं । म पनि नियमित रुपमा कार्यालय आईरहेको छु ।”
बीमा समितिले पनि संक्रमण जोखिमलाई ध्यानमा राखेर कर्मचारी तथा सेवाग्राही व्यवस्थापन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छैन । जसका कारण कम्पनीहरुले कर्मचारी आलोपालो तथा घरबाटै काम गर्ने व्यवस्था मिलाउन सकिरहेका छैनन् ।
केही दिनअघि मात्र नेपाल स्टक एक्सचेञ्जले शेयर बजारका लगानीकर्तालाई संक्रमण जोखिमलाई ध्यानमा राख्दै अनलाइनबाट शेयर कारोबार गर्न आग्रह गरेको थियो । यद्यपि लगानीकर्ता तथा सम्बद्ध क्षेत्रका मानिसहरुको चहलपलमा भने कुनै कर्मी आएको छैन । सेवाप्रदायक ब्रोकर तथा मर्चेण्ट बैंकरका कर्मचारीहरु भने बाध्यात्मक अवस्थामा कार्यालय पुगेर सेवा प्रवाहमा जुटिरहेका छन् ।
जोर-बिजोर प्रणालीलाई नै आधार मानेर कर्मचारी आलोपालो भएको बुझाई नियामकलाई परे पनि अवस्था त्यस्तो नभएको एक शेयर ब्रोकर कम्पनीका कर्मचारी बताउँछन् । “अब आउनै नसक्ने अवस्था अपिसमा कसैलाई थाहा भएको भए मात्र जोर-बिजोर सवारी साधनका आधारमा कार्यालय आउन नपर्ने केही मात्र साथीहरु हुनुहुन्छ । नत्र दिनहुँ हामी सबै जना कार्यालय आएर काम गरिरहेका छौं ।” उनले भने, “डर लागेर मात्र भएन, कार्यालयले कुनै निर्णय नगरेपछि आउनै पर्यो ।”
धितोपत्र बोर्डले पनि संक्रमण जोखिमलाई ध्यानमा राखेर कुनै किसिमको निर्देशन जारी गरेको छैन । जसका कारण शेयर ब्रोकर तथा मर्चेण्ट बैंकरहरुले कर्मचारी तथा सेवाग्राहीको व्यवस्थापनमा ध्यान दिन सकिरहेका छैनन् । कतैबाट प्रश्न उठेको खण्डमा तयारी जवाफ छँदैछ, “हामीले उच्च सतर्कता अपनाएका छौं ।”
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया