बैंकका कर्मचारीलाई उच्च सतर्कता, आइसोलेसनमा रहेका कर्मचारीलाई तलब सहितको अतिरिक्त बिदा

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना संक्रमण जोखिम बढेपछि बैंक वित्तीय संस्थाका कर्मचारीलाई उच्च सतर्कता र पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै कोरोना उपचारका लागि कर्मचारीलाई गरिने सम्पूर्ण खर्च बैंक/वित्तीय संस्थाले बेहोर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटल आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्नेछ । यसरी उपचारका क्रममा लाग्ने खर्च खर्च बैंक तथा वित्तीय संस्थाले बेहोर्नुपर्ने समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक्ट ट्रेसिङमा परेका कर्मचारीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी आवश्यकता अनुसार घर वा होटलमा क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइसोलेसन वा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कंदा पीसीआर टेष्ट गराउने र नतिजा नेगेटिभ आएपछि मात्र कार्यालयमा आउने व्यवस्था गर्नुपर्नेछ ।

आइसोलेसनमा बसेका कर्मचारीलाई आइसोलेसनमा रहने समयावधिमा तलब सहितको अतिरिक्त बिदाको व्यवस्था गर्ने तथा क्वारेन्टिनमा बसेका कर्मचारीलाई क्वारेन्टिनमा रहने समयावधिमा ‘वर्क फ्रम होम’ को व्यवस्था गर्न समेत केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

बैंक वित्तीय संस्थाले कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र ‘वर्क फ्रम होम’ को समेत व्यवस्था गर्नुपर्ने भएको छ । कोभिड–१९ को संक्रमणको सक्रिय संक्रमित संख्या २०० भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरुले बढीमा ५० प्रतिशत कर्मचारी मात्र कार्यालयमा अलोपालो गरी उपस्थित भई कार्य सम्पादन गर्ने र बाँकी कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरु गर्ने गरी ‘वर्क फ्रम होम’ तथा सहज कार्य गर्ने मोडलको ढाँचाको व्यवस्था गर्नुपर्ने भएको छ ।

केन्द्रीय बैंकले निर्देशन मार्फत सम्भव भएसम्म व्यक्तिगत भेटघाट एवं सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न प्रोत्साहित गर्न समेत बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । अत्यावश्यक बाहेकका सबै प्रकारका बैठक, समीक्षा गोष्ठी सेमिनार छलफल भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु बन्द गर्न तथा बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सुरक्षा प्रबन्धको अनिवार्य व्यवस्था गरी कार्यस्थलको सुरक्षामा कुनै कमी नरहने व्यवस्था गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरस सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कको लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समुह गठन गरेर काम गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ साउन २०७७, बिहीबार  २० : ११ बजे