नेपाल राष्ट्र बैंकले मंगलबार मात्रै सर्वसाधारणलाई करिब ११ किलो सुन बिक्री गरेको छ । केन्द्रीय बैंकले यमपञ्क सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात धनतेरसमा ११.३ किलो सुन र १७१.५ किलो चाँदी बिक्री गरेको हो ।
धनतेरसका दिन नेपालको तराई क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो । सोही अवसरमा केन्द्रीय बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गरेको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार मंगलबार २.५ ग्रामका सुनका असर्फी ४ हजार ५ सय २० थान बिक्री भएको छ । मंगलबारको बजार भाउ अनुसार सुन तथा चाँदीका सिक्का सर्वसाधारणलाई बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सुन चादी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला एक लाख ६८ हजार ५ सय रुपैयाँ थियो । सो मूल्य अनुसार केन्द्रीय बैंकले मंगलबार मात्रै १६ करोड ३३ लाख रुपैयाँ बराबरको सुनका असर्फि बिक्री गरेको हो ।
त्यसैगरी केन्द्रीय बैंकले मंगलबार ५ प्रकारका सिक्का बिक्री गरेको थियो । सबै प्रकारका गरेर केन्द्रीय बैंकले १३ हजार ६ सय वटा सिक्का बिक्री गरेको छ । केन्द्रीय बैंकले कुल एक सय ७१ केजी ५ सय ग्राम चाँदी बिक्री गरेको टक्सार महाशाखा निमित्त निर्देशक सम्झना ढकालले जानकारी दिइन् ।
मंगलबार केन्द्रीय बैंकले लक्ष्मी मेडालिन चाँदीका सिक्का ३ हजार ३ थान बिक्री गरेको छ । यो सिक्काको तैल १० ग्राम रहेको छ भने मूल्य २ हजार रुपैयाँ छ । गणेश मेडालियन २ हजार ६ सय सिक्का बिक्री गरेको केन्द्रीय बैंकले जनाएको छ । यो सिक्काको तौल १० ग्राम रहेको छ भने मूल्य २ हजार रुपैयाँ छ ।
त्यसैगरी गजलक्ष्मी सिक्का २ हजार ९ सय थान बिक्री भएको छ । यो सिक्काको तौल १० ग्राम रहेको छ भने मूल्य २ हजार रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार गाई मेडालीयन सिक्का २ हजार ३ सय थान बिक्री भएको छ । यो सिक्काको तौल २५ ग्राम रहेको छ भने मूल्य ५ हजार रुपैयाँ छ । त्यसैगरी १० ग्राम तौल भएको गाई मेडालीयन २ हजार रुपैयाँको दरमा २ हजार ५ सय थान बिक्री भएको छ ।
केन्द्रीय बैंकसँग स्टकमा रहेको सुनको मात्रा थोरै भएकाले एक दिनका लागि मात्र असर्फिको बिक्री खुला गरिएको बताउँदै निमित्त निर्देशक ढकालले भनिन्, “गत वर्षको तुलनामा यो वर्ष असर्फिको बिक्री कम भएको छ, केन्द्रीय बैंकसँग सुन कम भएकाले पनि बिक्री घटेको हो । साथै सुनको मूल्य पनि उच्च भएकाले खरिद गर्न चाहने सर्वसाधारणको संख्या कम भएको हो ।” मूल्यका कारणले पनि सुनभन्दा चाँदीका सीक्काको माग धेरै रहेको उनले बताइन । सुनका असर्फि मंगलबार मात्रै बिक्री गरिए पनि चाँदीका सिक्का भने आइतबारदेखि बिहीबारसम्म खरिद गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो ।
प्रतिक्रिया