तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितिया तिथिमा भाइटीका मनाइन्छ । भाइटीकाको आफ्नै विधि विधान छन् । चेलीले माइतीलाई विधिपूर्वक पूजा गरेर सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । मिठो मसिनो खुवाउँछन् । दाजुभाइले चेलीलाई दक्षिणा दिन्छन् ।
दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ।
यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।
भाइटीकाको टीका आज (आइतबार) दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
यस्तो छ पूजा विधि
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ। भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा–मीठा परिकारको आवश्यकता पर्छ। सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ।
त्यसपछि, दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ। पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ।
मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन्। सप्तरङ्गी टीकामा भावना मिसिएको शान्ति बताउँछिन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ।
यसरी सुरु भयो भाइटीका गर्ने चलन
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको मान्यता रहेको छ ।
प्रतिक्रिया