-
देवीप्रसाद घिमिरे
ऊ ! हेर त त्यो फेरि ङिच्च दाँत देखाउँदै आउँदै छ । अगाडिको चुनावमा ‘भोलि नै दिइहाल्छु नि बडाबा’ भन्दै गोरु बेचेको साइनो लगाएर मर्नै खोज्यो । जितेर गएपछि नातिलाई जागिर लगाइदिन्छु भन्यो ।
होला त नि ! गाउँको नेता, सबैलाई चिनेको भनेर पैसा दिएँ । बिचरा नाति काठमाडौँ जाँदाजाँदै झ्याप्ले खोलामा गाडीसमेत पुरिएर लास मात्र भेटियो, ४ दिनपछि ।
यो नेतो भनाउँदो त्यसबेला कुन कुनामा लुकेको थियो र आज फेरि लुरुक्क परेर किन आयो ङिच्च दाँत देखाउँदै ? राहत त परै जाओस्, अझै आहत थप्न आ’को त होला नि !
–नमस्कार बडाबा ! सन्चै हुनुहुन्छ ?– ङिच्च दाँत देखाउँदै टुसुक्क बस्यो ।
–होइन ए नेता जी ! अलिकति पनि लाज शरम छैन कि ! ऋण लगेपछि तिर्न जान्नुपर्दैन ?
–चिन्तै नगर्नुस् बडाबा ! म हजुरलाई सावाँ, ब्याज, ब्याजको पनि स्याज ८४ को चुनावमा तिरिहाल्छु नि ।
बडाबा झोक्किँदै जुरुक्क उठे ।
तेरिमा बजिया ! तैँले भोलिपल्टै दिन्छु भनेर पशुपतिका बाँदरले देखाएझैँ ङिच्च दाँत देखाएर मेरो ओखती खाने पैसासमेत लगेको होइनस् ? आज २ वर्ष भइसक्यो । अझै तिर्ने कुरा गर्दैन, ङिच्च दाँत पो देखाउँछ । ८४ मा त तँ ढँटुवा, लुटुवा, हरिलठ्ठककै चौरासी हुन्छ ।
नेताजी ङिच्च दाँत देखाउँदै फिस्स हाँसेर बाटो लाग्यो ।
होइन ए काहिँला बा ! यस्ता सडकछापहरूलाई पैसा दिनु र कुकुरलाई मासु पैँचो दिनु एउटै होइन र ? हातले दिएको पैसा उठाउन खुट्टाले दुःख पाउनुपर्छ ।
दिएको पैसा फर्काइहाले पनि झगडा बोकेर आउँछ । पैसा लगेर सबै भोलि–भोलि भन्दै ङिच्च दाँत देखाउँछन् ।
भोलि न कसैले देखेको छ न त कसैले भेटेको छ । तर, मानिसको साइनो भोलिसँग कति गहिरो छ ।
स–साना नानीबाबुलाई औषधि खायौ ? भन्दा ‘भोलि खान्तु’ भन्छन् । होमवर्क गर्यौ ? भन्दा ‘भोलि गल्छु’ भन्दै मोबाइलमा गेम खेलिरहन्छ । १–२ वर्षमै अटिजम लागेर न त आज न त भोलि बन्छ ।
अरूको के कुरा गर्नु ! हाम्रा ज्वाइँ नारा’नलाई ‘नातिको होस्टेलको पैसा बेलैमा बुझाइदिनू है’ भनेर ५ लाख रुपैयाँ पठाइदिएको । स्कुलमा त कता तिर्नु, अझ त्यो पैसा जग्गामा हालेका रे !
अहिलेसम्म स्कुल र होस्टेलमा खाएको, बसेको, पढेको, परीक्षा शुल्कसमेत एक सुको नतिरेपछि स्कुलले फोन गर्यो ।
काठमाडौँ गएर प्रिन्सिपललाई भेटेँ । साँच्चै एकै सुको तिरेको रै’नछ । बिचराले २ वर्षसम्म धन्न मेरो नाति पढाएर प्रथम श्रेणीमा उत्तीर्ण भएछ ।
मैले चेक काटेर पैसा दिन खोज्दा उनी झस्किए । ‘हेर्नुस् बा ! आफ्ना छोराछोरीको पढेको, खाएको पैसा चेक मात्रै छ ! खातामा त पैसै छैन । धेरैको यस्तै भएको छ । अब तपाईँ पनि त्यस्तै त होला नि !’
‘१२ वर्षमा पोइ आको, मलाई आजै ज्वरो आको’ भनेझैँ म लाजले भुतुक्कै भएँ । ङिच्च दाँत देखाउँदै त्यस्तो हुँदैन सर ! भनेर टाउको निहुर्याएँ ।
तुरुन्तै ज्वाइँलाई बोलाएँ । ‘यो के गरेको ज्वाइँसाप ?’ भनेको । ससुरालीको खाएँ त के बिराएँ पो भन्छन् बा ! म अवाक् भएर नातिको २ वर्षको पैसा तिरेर ङिच्च दाँत देखाउँदै घर आएँ ।
प्रिन्सिपलको कोठामा आधा घन्टा जति बस्दा १० जना जति मानिस ङिच्च ङिच्च गर्दै आए । पैसा तिर्ने कुरा कसैले गरेनन् ।
एउटी महिलाले रुन्चे स्वरमा भनिन्– ‘सर ! सहकारीमा काम गरेर छोराछोरी पढाउँथेँ । त्यसका सञ्चालकै भागे । जागिर त गयो–गयो, अब गाँस, बासकै पो बिचल्ली भयो । यसो सानोतिनो काम भए गर्थेँ’ भन्दै तुरुक्कै आँसु झारिन् ।
ल नरुनुस्, यो समयको खेल हो । एक दिन तपाईँलाई पनि समयले साथ देला नि त ! भनेपछि ती पनि फिस्स रुन्चे हाँसो हाँस्दै ङिच्च दाँत देखाएर बाटो लागिन् ।
त्यसैबेला फोन आयो । प्रिन्सिपलले ह्यान्ड्सफ्री गरेर सुनाए । उताबाट भनियो– ‘ए सर ! त्यो मेरो छोरीको सर्टिफिकेट दिनुपर्यो । यसपालि हाम्रो चौमासिक आएकै छैन । बुढा ठेक्दार, खोलाले ४ वटा जेसिबी बगायो । आबो कसोरी पो पैसा दिनु हाउ सर ।’
राम्रो विषय लिएर पढेकी ती नानीले ४ वर्ष पढेको, खाएको, बसेको गरी जम्मा ६ लाख तिर्न बाँकी रहेछ ।
अर्को एउटा फेरि ङिच्च गर्दै आयो– यतिन्जेलसम्म छोराछोरी पढे, लेखे, ठुला भए । यसपालि छोरालाई मोटरसाइकल नकिनी भएन । लौ न सर, एक/डेढ लाख सापटी चाहियो ।
–होइन ए दाइ ! अहिलेसम्म केटाकेटीको पैसा कति तिर्यौ ?
–सर, हजुर पनि ! पहिले भर्ना गर्दा तीनै जनाको २–२ हजार तिरेको, अहिले त भए पो दिनु ? जम्मा हिसाब कति भयो, त्यो त गर्दै गरौँला नि ! ३ जनाले ४ वर्षसम्म पढेको केही नभए पनि भयो होला नि एक/डेढ लाख भन्दै ङिच्च दाँत देखायो ।
के गर्नु बा ! सुन्नु र सहनुको विकल्प छैन ।
यस्ता धेरै छन् । आजभोलि साँच्चै नै मान्छेसँग विश्वास हराएको छ । जताततै उधारै उधारो । सबैका मुखमा ‘भोलि’ मात्र छ । यस्तै हो भने अब बाँच्ने विकल्पै नखोजी नहोला जस्तो छ ।
यो चाडबाड त नआए हुन्थ्यो जस्तो लाग्छ । कोही ङिच्च दाँत देखाउँदै चन्दा माग्न आउँछन् । भने जति नदिए डन्डा देखाउँछन् । चन्दा मागी खाने धन्दा, साथमा डन्डा । सबै सहनुको विकल्प छैन ।
त्यसैबेला दाङतिरको एउटा गौतम केटो आयो । १२ वर्षअघि होस्टेल बसेर प्रथम श्रेणीमा पास भएर डिग्री पनि रामै्रसँग पास गरेछ ।
ङिच्च दाँत देखाउँदै भन्यो, ‘मेरो पैसा त बाबाले नियमित पठाएकै रहेछ । मेरा बडाबाले पो चाबहिलको रेस्टुरेन्टमा लुपुलुपु खाएछन् सर । घिचेकैले थिचेर पोहोर सालै परमधाम गए ।’
ङिच्च हाँस्दै त्यो भलाद्मी बोलिरह्यो । पैसा तिर्ने त कुरै गरेन ।
होइन, यो साग खाएका हरिया दाँत ङिच्च देखाउँदैमा अरूलाई उठिबास लाग्ने गरी मर्का पार्नु त भएन नि !
नेता, कार्यकर्ता, व्यापारी, कर्मचारी, शिक्षक, अभिभावक सबै–सबैको चाल हेर्दा सबै–सबै ङिच्च दाँत देखाउने मात्र भेटिन्छन् त !
यो ङिच्च शब्दको अर्थ नेपाली शब्दकोशमा जिल्ल, वाल्ल, हिस्स परेर दाँत देखाएर हाँस्ने भनेर उल्लेख गरिएको छ । निराश भएको, जिल्लाराम परेको, जिल्लिएको, ङिच्चे ।
ङिच्च दाँत देखाएर फिस्स हाँस्ने, लाचार, निकम्मा भएर अरूको सम्पत्तिमा आँखा गाड्ने, र्याल चुहाउने, लाजशरम नभएको, लाजशरम पचाएको, द्रव्यपिशाच, नामर्द, हुतिहाराको परिचय दिने ।
लेनदेनको व्यवहार, ऐँचोपैँचोको व्यवहार गर्दा लगेपछि फिर्ता गर्न नजान्ने । आज पो छैन त, भोलि कसो नहोला भन्दै चेपारे घसेर, मानिसलाई क्षणिक भुलभुलैयामा लठ्याएर अरूको गोजीको पैसा आफ्नो गोजीमा पार्नासाथै बेपत्ता हुने ।
अरूका अगाडि ‘हिङ नभए’नि हिङ बाँधेको टालो पो हो त !’ भन्दै बाबुबाजेको इमान, जमान बेच्ने ङिच्चारामहरूसँग सावधान रहनु नै उत्तम ठहर्ला ।
‘आज विश्वास गर्नुस्, भोलि मालामाल’ भन्दै तपाईँको सोझोपनको फाइदा उठाएर तपाईँकै सर्वनाश गर्ने ब्वाँसाहरूसँग सावधान रहनुको विकल्प छैन ।
उहिले गाउँघरमा गाईवस्तु चराउन जाँदा ब्वाँसो प्रजातिको जनावरले गाईवस्तुका किर्ना टिपेर खाने, कन्याइदिने र गाईवस्तु सन्चो मानेर सुतेपछि मलद्वारबाट आन्द्रा भुँडीसमेत झिकेर खान्थ्यो र गाईवस्तु मर्थे ।
आजभोलि गाउँ–सहरमा त्यो ब्वाँसोको स्वरूप धारण गरेका मानिसहरूले गाईरूपी सोझा जनताको सम्पत्ति मात्र लुट्दैनन्, सर्वनाश गरेर छाड्छन् । लेनदेनकै कारण कयौँ मानिसको अकालमै ज्यान गएको छ ।
लिने बेलामा मलाई ‘एक पटक विश्वास गरेर हेर्नुहोस्, धरोधर्म म तपाईँकै रगत खाने, सत्य यो रकम १ हप्ताभित्र पुर्याउन आइनँ भने मरिजाम्’ भन्दै शब्दजाल फिँजाएर टुनामुना, उखानटुक्का जोडेर तपाईँलाई फसाउन गफैका भरमा खान पल्किएकाहरू तपाईँकै वरिपरि यत्रतत्र सर्वत्र र्याल चुहाएर स्यालझैँ लुखुरलुखुर कुदिरहेका छन् । सावधान रहनुमा नै तपाईँको कल्याण हुनेछ ।
‘जाँगर न साँगर, खाने बेला आँ गर’ भनेझैँ यिनीहरू श्रम गर्दैनन् । सीप छैन, नल गोडेर फल फलाउने फूर्ती लाउँदै लुसुक्क पसेर मौरीको मह भुसुक्कै पार्ने मलसाँप्रो रूपी मानिसहरूसँग समयमा जोगिन सक्नुभयो भने १ दिन २ दिन ठुस्किन्छ, सकिन्छ ।
बडो दानी भएर ब्याजको लोभमा लुटपुटिनुभयो भने ब्याज त कता हो, सावाँ उठाउनै जिन्दगीभरि छटपटिनुपर्छ ।
न नाता न गोता, न इष्ट न मित्र, न त कुल न कुटुम्ब, न आफ्नो न बिरानो, जोसुकैलाई धनको मोह हुन्छ । तपाईँको मनमा सियो बनेर पस्छन् र सुनको फाली बोकेर ताली बजाउँदै कुलेलम ठोक्छन् ।
मुखमा मह राखेर पेटमा छुरा धस्ने मानव रूपी दानवहरूसँग होसियार हुन नसकेकाहरू आज पुर्पुरोमा हात लगाएर आफ्नै पुर्पुरो ठोक्दै छन् ।
जिन्दगीभरिको मिहिनेत, पसिना, परिश्रमको कमाइ चाटुकारलाई चटाएर बाँच्ने रहर साँचेर बाँचेकाहरू ङिच्च दाँत देखाएर निराशा, निरुत्साह, निकम्मापन देखाउन बाध्य छन् ।
‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भनेझैँ सम्पत्ति आफैँले झ्वाम पारेपछि आफू विपत्तिको सारंगी रेट्दै बस्नुको विकल्प छैन ।
प्रतिक्रिया