अमेरिकी केन्द्रीय बैंक– फेडरल रिजर्भले ०.२५ प्रतिशतले ब्याजदर कटौती गरेको छ । नोभेम्बर ६–७ गते बसेको फेडरल ओपन मार्केट कमिटीले घट्दै गरेको मुद्रास्फीति दरलाई मध्यनजर गर्दै ब्याज दर कटौती गरेको हो ।
नोभेम्बर ७ मा फेडले गरेको ब्याजदर कटौतीसँगै फेडरल फन्ड रेट ४.५–४.७५ प्रतिशत कायम गरेको फेडका अध्यक्ष जेरोम पावेलले जानकारी दिए । यो ब्याजदर सन् २०२३ को मार्च महिनायताकै न्यून हो ।
यसअघि सेप्टेम्बर महिनामा बसेको फेडको २ दिने बैठकले ०.५ प्रतिशतले ब्याजदर कटौती गरेको थियो । जसकारण २० वर्षयताकै उच्च विन्दुमा रहेको फेडको ब्याजदर घटेर ५ प्रतिशत विन्दुमा कायम भएको थियो ।
घट्दो मुद्रास्फीति दर र अमेरिकी श्रम बजारमा बढ्दै गरेका रोजगारका अवसरहरुलाई ध्यानमा राखी ब्याजदर कटौती गरेको फेड अध्यक्ष पावेलले बताए । सेप्टेम्बर महिनामा अमेरिकाको मूल्यवृद्धि दर २.४ प्रतिशत कायम भएको छ । यसअघि अगस्ट महिनाको मुद्रास्फीति दर २.५ प्रतिशत थियो । जुन सन् २०२२ को जुन महिनायताकै कम हो ।
यसैगरी सेप्टेम्बर महिनामा मात्रै अमेरिकी श्रम बजारमा २ लाख ५४ हजार नयाँ रोजगारीका अवसर थपिएका छन् र बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ । यसअघि अगस्ट महिनाको सो दर ४.२ प्रतिशत थियो ।
सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट अमेरिकी अर्थतन्त्र प्रभावित हुन नदिन फेडले ब्याजदर कटौती गरी शून्य विन्दुमा पुर्याएको थियो । सन् २०२० र २०२१ मा फैलिएको कोभिडको विभिन्न लहरबाट अमेरिकी जनता र अर्थतन्त्रलाई जोगाउन फेडले ब्याजदर शून्य नै कायम गरिरह्यो ।
तर, फेडको सो कदमले मुद्रास्फीति दर ४० वर्षयताकै उच्च हुने गरी बढ्यो र सन् २०२२ को मार्च महिनामा फेडले ०.२५ प्रतिशतले ब्याजदर बढाउन सुरु गर्याे । यसरी ब्याजदर बढाउने शृंखला सन् २०२३ सम्म चलिरह्यो । सन् २०२३ को अन्त्यमा फेडले ब्याजदर बढाएर ५.५ प्रतिशत कायम गरेको थियो ।
सन् २०२४ को सुरुमै लगानीकर्ता फेडले ब्याजदर कटौती गर्छ कि भन्ने आसमा थिए । तर, जनवरीमा बसेकाे फेड बैठकले मुद्रास्फीति दर नियन्त्रणमा नआएका कारण ब्याजदर कटौती नगर्ने र मार्केट मुभ विश्लेषण गर्ने पावेलले जानकारी दिएका थिए ।
फेडले सेप्टेम्बर महिनामा पहिलो पटक र नोभेम्बरमा दाेस्रो पटक ब्याजदर कटौती गरेको हो ।
नोभेम्बर ६ तारिखमा कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले अघि सारेका आर्थिक एजेन्डाहरूलाई फेड र जेरोम पावेलले कसरी अगाडि बढाउँछन् भन्ने विषयलाई लिएर अर्थशास्त्री तथा विज्ञहरूले चासाेसाथ नियालिरहेका छन् ।
प्रतिक्रिया