बागलुङ । कोरोना महामारीका कारण गाउँघरमा हिँडडुल, आउजाउ ठप्प थियो । विद्यालय बन्द थिए । घरछेउको पुर्ख्यौली बारी बाँझो भएको धेरै वर्ष भइसकेको थियो । वनमारा र कुकाठले भरिएको बारीले ‘गोपाल सर’लाई पाखुरा बजार्न प्रेरित गरिरहन्थ्यो । यही मेसोमा एक दिन उनले किबीखेती गर्ने निर्णय गरे ।
गाउँमा ‘गोपाल सर’ का रूपमा परिचित गोविन्दप्रसाद शर्माले बाँझो बारी र खरबारीको झाडी फाँडेर किबी रोप्न थाले । गलकोटको खरुवा माध्यमिक विद्यालयका शिक्षक उनी नमूना किसान भएका छन् ।
विद्यालयबाट बचेको समयको सदुपयोग गर्दै गरेको किबीखेतीले उनलाई आर्थिक रूपमा पनि सबल बनाएको छ । उनले किबी लगाएको तेस्रो वर्षमै राम्रो प्रतिफल दिन थालेको हो । सरल कृषि फार्ममार्फत उनका उत्पादन बजारमा पाइन्छन् ।
विसं २०७८ मा बरास्थान किबी उत्पादन समूहमार्फत उनले किबी खेती सुरु गरेका थिए । किबीखेतीका लागि गलकोट नगरपालिकाले बिरुवा उपलब्ध गराएको थियो । दश रोपनी जग्गामा एक सय ५० बोट किबीखेती गरेका उनले बिरुवा सारेको तीन वर्षमा नै लगानी उठाएको बताए ।
उनको बारीमा फलेका किबी स्थानीय बजारदेखि देशका ठूला सहरमा बिक्री भइरहेको छन् । प्रतिकिलो तीन सय रुपैयाँदेखि चार सय ५० सम्ममा बिक्री हुने गरेको छ । किबीखेतीबाट उत्साहित गोपाल सरले २० रोपनी पाखोबारीमा ओखरखेती पनि प्रारम्भ गरेका छन् ।
प्रतिक्रिया