वित्तीय विवरणले बिक्री चाप बढे पनि घट्दो मूल्यमा शेयर उठाउने झनै सक्रिय

0
Shares

धितोपत्रको दोस्रो बजारमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेको अवस्थामा शेयर बजारमा नकारात्मक प्रभाव परेको छ । 

कोरोना कहरको मार खेपेका अधिकांश कम्पनीहरुले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेपछि लाभांश घट्ने सोचमा शेयर बिक्रीमा चाप पर्दा धेरैजसो कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बिक्रीको चाप पर्दा अधिकांश कम्पनीको शेयर मूल्य घट्दा सस्तो मूल्यमा शेयर उठाउनेहरु सक्रिय हुँदा कारोबार रकममा भने सुधार आएको छ । अल्पकालीनभन्दा पनि दीर्घकालीन लगानी गर्नेहरुले शेयर खरिदको क्रम बढाएका हुन् ।

कोरोनाका कारण ठप्प रहेका उद्योग धन्दालाई राहत तथा सहुलियत दिनुपर्दा बैंकको आम्दानीमा असर पुगेको हो । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावीत उद्योग व्यवसायलाई ब्याजदरमा छुट दिने तथा कर्जा तिर्ने समय अवधि थप गरेपछि बैंकहरुको आम्दानी प्रभावित भएको छ ।

कतिपय बैंकहरुको नियामकिय व्यवस्था वापतको खर्च समेत बढेको छ । यसले पनि नाफा प्रभावित भयो । जसले गर्दा अधिकांश वाणिज्य बैंकहरुको शेयर मूल्य घटेको छ । नेपाल बैंकको भने शेयर मूल्य बढेर उच्च कारोबार भएको छ ।

सरकारले कोरोना संक्रमणको दर बढ्न थालेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघोषित लकडाउन लागू गरेपछि शेयर बजारको चमक हराउन थालेको छ । कोरोनाको त्रास बढ्दै जाँदा सरकारले बैंक तथा वित्तीय संस्था लगायत सरकारी तथा गैरसरकारी कार्यालहरुमा आलोपालो प्रणालीसहित अधिकतम ५० प्रतिशत कर्मचारीबाट काम चलाउन निर्देशन जारी गरेको छ ।

त्यस्तै नेप्सेले पनि ब्रोकर कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्दै भौतिकभन्दा पनि अनलाइन कारोबार गर्न गराउन जोड दिएको छ । सवारी साधानमा पनि जोर-बिजोर प्रणाली लागू भएको छ । यसले गर्दा ब्रोकर कम्पनीहरुमा लगानीकर्ताको चहलपहल कम हुँदै जाँदा कारोबार शिथिल हुँदै गएको छ ।

बजारका लगानीकर्ताहरुको पनि शेयर खरीदभन्दा बिक्रीमा चाप परेको हो । तर बजार तल झरेको अवस्थामा सस्तो मूल्यमा शेयर खरिद गर्नेहरु बढेपछि कारोबार रकम भने बढेको छ ।

 

आइतबार बजार खुल्नासाथ २७ अंकसम्म झरेको बजार केहि सुध्रिएर बजार बन्द हुने समयसम्म आईपुग्दा १७.३३ अंकले घटेर १३९१.४६ विन्दुमा झरेको छ । १८५ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँ बढीको कारोबार भएको बजारमा ४३ लाख ७१ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

यस दिन कारोबारमा आएका व्यापार समूह बाहेक सबै समूहका सूचक घटेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ७६ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि झण्डै २० अंकले घटेको छ ।

साधना लघुवित्त र छ्याङ्दी हाइड्रोको शेयर भाउ करिब १० प्रतिशतका दरले बढेको छ । आखुँखोलाको शेयर मूल्य सबैभन्दा धेरै ७.४१ प्रतिशतले घटेर ५० रुपैयाँमा झरेको छ । नेपाल बैकको सबैभन्दा धेरै ८ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३२ साउन २०७७, आइतबार  १५ : २३ बजे