बैंकहरुको जोखिम व्यवस्थाको रकम साढे ११ अर्बले बढ्यो, ‘राइटब्याक’ मा राष्ट्रिय वाणिज्य बैंक अघि

0
Shares

वाणिज्य बैंकहरुको गत आर्थिक वर्षमा जोखिम व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम उच्च दरमा बढेको छ । गत आवमा २७ वाणिज्य बैंकले ११ अर्ब ४३ करोड रुपैयाँ जोखिम व्यवस्थाका लागि थप रकम छुट्याएका हुन् ।

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरण अनुसार जोखिम व्यवस्था बापत १८ अर्ब ७० करोड ४३ लाख रुपैयाँ छुट्याएका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १५७.३८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंकहरुले कुल जोखिम व्यवस्थाका लागि ७ अर्ब २६ करोड ७३ लाख रुपैयाँ छुट्याएका थिए ।

केन्द्रीय बैंकले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्र सम्हाल्नका लागि बैंक वित्तीय संस्थालाई जिम्मेबार बनाएको छ । बैंकहरुले कोरोनाका कारण अहिलेसम्म भएको असर र आगामी दिनमा समेत हुन सक्ने जोखिमलाई आँकलन गरेर पूर्वसावधानी अपनाउँदा जोखिम व्यवस्था बापतको रकम बढेको हो।

कोरोना भाइरसका कारण उद्योग व्यवसाय बन्द रहेको अवस्था छ भने उत्पादन तथा वितरणको संयन्त्र समेत बिग्रिएको छ । त्यो मात्र नभई माग र आपूर्तिको चक्रमा समेत अस्तव्यस्त अवस्था छ । यो अवस्थामा केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई नीतिगत सहुलियत दिएर उद्योगी व्यवसायीलाई बचाउने प्रयास गरेको छ । तर, बैंकहरुले नेपाल राष्ट्र बैंकले दिएको नीतिगत लचकतालाई भन्दा पनि संस्थागत जोखिमलाई ध्यानमा राखेको देखिन्छ ।

राष्ट्र बैंकले दिएको सुविधालाई मात्र प्रयोग गरेको भए बैंक वित्तीय संस्थाको दीर्घकालीन जोखिम बढ्न सक्ने भएकाले स्व नियमनका कारण जोखिम व्यवस्थाको रकम उच्च भएको बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । “राष्ट्र बैंकले भनेअनुसार मात्र प्रोभिजनिङ गरेको भए पनि थोरै रकमले हुन्थ्यो,” दाहालले भने, “बैंकहरु नै होसियार भएर आगामी दिनमा झनै समस्या नहोस् भनेर पूर्वतयारी गर्दा उच्च दरमा बढेको देखिएको हो ।”

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तमा असल वर्गमा वर्गीकरण भएका र २०७६ पुस मसान्तपछि प्रवाह भएका कर्जालाई बैंक तथा वित्तीय संस्थाहरुले २०७७ असार मसान्तमा असल वर्गमा वर्गीकरण गर्न सक्छन् । यसरी पुनर्तालिकीकरण/पुनर्संरचना गर्दा २०७६ पुस मसान्तमा सक्रिय कर्जाहरुका लागि न्यूनतम ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असल वर्गमा वर्गीकरण गर्न सकिनेछ ।

यसरी वर्गीकरण गरिएका कर्जा तथा बिल्स खरीदहरुका लागि बक्यौता साँवा रकमको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम गर्दा असल १ प्रतिशत, सूक्ष्म निगरानी ५ प्रतिशत, कमसल २५ प्रतिशत, शंकास्पद ५० प्रतिशत र खराब कर्जाको १०० प्रतिशत जोखिम व्यवस्था गर्नुपर्छ । असल वर्गमा वर्गीकरण भएका तर, भाखा नाघेको अवधिको आधारमा २०७७ असार मसान्तमा तल्लो वर्गमा वर्गीकरण गर्नुपर्ने कर्जाहरुका लागि कम्तीमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरिएका कर्जाको विवरण अलग्गै तयार गरी बैंकहरुले राष्ट्र बैंकमा पेश गर्नुपर्ने व्यवस्था छ ।

BANK 2077 ashad end

 2076 ashad end       Rs’000′

Right Back change
 Rastriya Banijya Bank  85,146 611,108 -525,962
 Prabhu  252,935 370,138 -117,203
 Nepal SBI  272,340 146,617 125,723
 Himalayan   303,101 133,622 169,479
 Nepal Credit & Commerce  328,236 -127,136 455,372
 Agriculture Dev  344,648 -289,847 634,495
 Laxmi  345,547 127,515 218,032
 Kumari  422,252 229,031 193,221
 Standard Chartered  439,066 88,238 350,828
 Civil  442,031 58,893 383,138
 Century  534,597 574,325 -39,728
 Bank of Kathmandu  537,683 64,557 473,126
 Nepal Bank  545,163 477,103 68,060
 Everest  548,470 136,756 411,714
 Machhapuchchre  604,002 117,171 486,832
 Citizens  677,297 -138,373 815,670
 Siddhartha  727,817 188,117 539,700
 Nabil  744,564 405,174 339,390
 Prime  782,960 135,340 647,620
 Nepal Bangladesh  796,479 447,244 349,234
 Sunrise  837,206 103,524 733,683
 Sanima  883,459 218,238 665,221
 Mega  888,536 426,621 461,916
 NIC Asia  1,120,474 598,918 521,556
 NMB  1,619,605 166,273 1,453,332
 Global IME  1,740,617 401,571 1,339,046
 Nepal Investment  1,880,141 1,596,610 283,531
Total 18,704,371 7,267,348 11,437,023

 

एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाह गरिएका असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १ प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था छ ।

बैंकहरुको निक्षेप, कर्जा तथा स्प्रेड पनि खुुम्चिएपछि नाफा घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । “बैंकहरुले केन्द्रीय बैंकले दिएको सुविधालाई मात्र प्रयोग नगरी बैंकहरु आफैं पनि सचेत भएकाले प्रोभिजनिङ बढेको हो,” उनले भने, “बैंकहरुले अवलम्बन गरेको नीति केन्द्रीय बैंकले दिएको सहुलियत भन्दा धेरै कसिलो छ ।”

गत आर्थिक वर्षमा सबैभन्दा धेरै राइट ब्याक गर्नेमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकले अघिल्लो आवमा गरेको प्रोभिजनिङलाई फिर्ता गरेको छ । यो बैंकको सबैभन्दा थोरै ८ करोड ५१ लाख रुपैयाँ जोखिम व्यवस्था बापत राखेको छ । बैंकले गत आवमा अघिल्लो आवको जोखिम व्यवस्था बापतको ५२ करोड ५९ लाख रुपैयाँ फिर्ता गरेको छ ।

गत आवमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८८ करोड रुपैयाँ उक्त शीर्षकमा छुट्याएको छ । अघिल्लो आवमा बैंकको सो शीर्षकमा १ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।