क्यापिटल चार्जले बैंकहरुको प्राथमिक पुँजी कोषको दबाब अझै अपेक्षित सहज हुन सकेन 


वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष दबाब अझै पनि सहज हुन सकेको छैन् । पुँजीकोषको दबाब कम गर्न केन्द्रीय बैंकले केही नीतिगत सहजता गरेको भएपनि क्यापिटल चार्जका कारण अपेक्षित सुधार हुन नसकेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आधा भन्दा धेरै बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशत भन्दा तल छ । तर, सबै बैङ्कको प्राथमिक पुँजी कोष अनुपात क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ ले तोकेको ८.५ भन्दा केही माथि रहेको छ । यस्तो अनुपात नियामकिय सीमा भन्दा माथि रहेपनि कर्जाको माग ह्वात्तै बढेको खण्डमा पुँजीकोष दबाब पुनः बल्झन सक्ने भएकाले पनि पुर्ण सहजताको अवस्था नभएको बैंकहरुको भनाइ छ । 

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको बासेल डिस्क्लोजर अनुसार १२ बैंकको प्राथमिक पुँजी कोष ९ प्रतिशतको हाराहारीमा छ । यी मध्ये कुमारी बैंकएनआईसी एसिया बैंकको तोकिएको सीमा कै आसपासमा मात्रै छ । तर स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने सबैभन्दा धेरै करिब १५ प्रतिशत प्राथमिक पुँजी कोष अनुपात छ । अन्य ७ बैंकहरुको प्राथमिक पुँजी कोष १० प्रतिशत भन्दा माथि छ ।

बैंकहरुको पुँजीकोषमा दबाब परेको हुनाले लगानी योग्य पुँजी हुँदा पनि कर्जा विस्तार गर्न सकेनन् । त्यसपछि केन्द्रीय बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत असल कर्जामा गर्नु पर्ने कर्जा नोक्सानी व्यवस्था घटायो भने रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा बढायो । त्यसले बैंकहरुलाई केही राहत दिएको भएपनि क्यापिटल चार्जको चेपुवामा परेका बैंकहरुलाई महसुस हुने राहत  भने भएन । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले असल कर्जा गर्नु पर्ने १.२ प्रतिशत कर्जा नोक्सानीलाई घटाई १.१ प्रतिशतमा झार्‍यो भने २ करोडको सीमामा रहेको रेगुलेटरी रिटेल पोर्टफोलियोलाई साढे २ करोड पुऱ्यायो । 

रेगुलेटरी रिटेल पोर्टफोलियो अन्तर्गतका कर्जाको जोखिम भार ७५ प्रतिशत मात्र हुन्छ । साथै सो वर्गमा पहिलो आवासीय घर कर्जाको सीमा वृद्धि र कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा गरेको कर्जा लगानीलाई यसमा समेट्न सकिन्छ । 

केन्द्रीय बैंकले पुँजीकोषमा परेको दबाब कमगर्न केही सहजता दिलाए पनि कार्यसम्पादनमा देखिएको कमी कमजोरी बापत क्यापिटल चार्ज गर्नु पर्दा बैंकहरुलाइ खसै फरक नभएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै केन्द्रीय बैंकले ग्रोस इनकमको ४ प्रतिशतसम्म क्यापिटल चार्ज गरेको छ । त्यसका साथै जोखिम भार सम्पत्तिको समेत ४ प्रतिशत थप समायोजन  ागर्न भनेको अवस्था छ । यसले बैंकहरुको पुँजीकोष मै असर गर्ने भएकाले मौद्रिक नीति मार्फत दिएका सुविधाले क्यापिटल चार्जका कारण उस्तै भएको भएको एक बैंकले बताए । 

बैंकहरुमा कोरोना महामारी तथा आर्थिक मन्दीको असरले कर्जा डिफल्टर रेट बढ्यो । त्यसका लागि बैंकहरुले जोखिम ब्यवस्था बढाउनु पर्ने अवस्था आयो । त्यसका साथै कर्जा असुलिमा समेत समस्या आएपछि बैंकहरुको पुँजीकोमा दबाब पर्न थाल्यो । पुँजीकोषमा दबाब पर्न थालेपछि बैंकहरुले कर्जा लगानी  विस्तार गर्न सकेनन । त्यसका साथै अर्थतन्त्र पनि सुस्त भएपनि कर्जाको माग समेत नबढ्दा बैंकहरु असुलिमा लागे । बैंकहरु असुलिमा केन्द्रीय हुदाँ वित्तीय अवस्थामा केही सुधार देखिएको भएपनि नयाँ लगानी विस्तार गर्न अझै पनि सकेका छैनन् । 

वित्तीय क्षेत्रको ब्याजदर निरन्रत घटिरहेको छ । कर्जा लगानी योग्य रकमको उपलब्धता पनि प्रयाप्त छ । बैंकहरुको कर्जा निक्षेप अनुपात नै ७८.२८ प्रतिशत रहेको छ । बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुर्याउन सक्छन । यो अधारमा बैंकहरुसंग प्रयाप्त लगानी गर्ने क्षमता दखिएको भएपनि कर्जाको न्यून माग र पुँजीकोषको दबाब बाधक देखिएको ती बैंकरको भनाइ छ । 

 

प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार  १६ : ५३ बजे