नेपाल राष्ट्र बैंकले बुधबार निक्षेप सङ्कलन उपकरण मार्फत साढे १६ अर्ब तरलता खिचेको छ । केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल आएपछि निक्षेप सङ्कलन मार्फत तरलता खिचेको हो ।
अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन । साथै रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढिरहेको छ । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो ।
वित्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि क्रमिक रुपमा घटाउँदै आएका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न नीतिगत कडाइ गरेकाले पनि कर्जा लगानी बढ्न नसकेको हो ।
केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ । पछिल्लो समयमा अन्तर बैंक ब्याजदर २.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको पछिल्लो कर्जा निक्षेप अनुपात ७८.२८ प्रतिशतमा झरेको छ ।
बुधबार केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्बको निक्षेप सङ्कलनको लागि माग गरेको थियो । तर, बैंकहरुले १७ अर्ब ४५ करोडको मात्र निक्षेप राख्न चाहे । त्यसमा बैंकहरुले करिडोरको तल्लो सीमा भन्दा माथि पुगेर ब्याज माग गरेपछि केन्द्रीय बैंकले १६ अर्ब ४५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन लिएको छ ।
बुधबारको निक्षेप संकलनको अधिकतम ब्याजदर ३ र न्यूनतम २.९३६५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । यसको औसत ब्याजदर २.९९९४ प्रतिशत कायम भएको छ । उक्त निक्षेप संकलका लागि ११ अवेदबाट १२ आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया