वित्तीय बजारको अधिक तरलता र घट्दो ब्याजदरले पनि सेयर बजारलाई सर्पोट गर्न सकेको छैन । अर्थतन्त्रको बाह्य क्षेत्र सबल भएपनि आन्तरिक गतिविधिमा आएको सुस्तताले सेयर लगानीकर्ताको मनोबल कमजोर हुँदा धितोपत्र बजार नै प्रभावित भएको हो ।
बैंक तथा वित्तीय संस्थाले एकल अङ्कको ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गर्दा समेत लगानीकर्ता लगानी बढाउने पक्षमा देखिएनन् । त्यसको मुख्य कारण भनेको आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तता नै हो । सेयर बजार र वित्तीय क्षेत्रको ब्याजदरको सम्बन्ध उल्टो हुने भएपनि पछिल्लो समयमा आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले लगानीकर्ताको मनोबल कमजोर बनाएको धितोपत्र बोर्डको पुर्व कार्यकारी निर्देशक निरज गिरी बताउँछन् ।
“बैंकमा निक्षेपको ब्याजदर ५ प्रतिशतको हाराहारीमा आउँदा समेत धितोपत्र बजारमा लगानी बढाउन नचाहेको देखियो,” गिरीले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिता उल्लेख्य सुधार आएपनि आन्तरिक आर्थिक गतिविधि बढ्न सकेको छैन ।” आन्तरिक अर्थतन्त्र नै ठप्प सरह भएपछि लगानीकर्ताले पनि विवेकी निर्णय गर्न थालेको बुझिन्छ । अर्थतन्त्र नै समस्यामा भएको अवस्थामा सेयर बजारमा लगानी बढाइ झनै जोखिम लिन भन्दा थोरै प्रतिफल मै बैंकमा निक्षेपमा राख्न उपयुक्त रहेको लगानीकर्ताको बुझाइ छ ।
पछिल्लो समयमा सेयर लगानीकर्ता पनि परिपक्क भएको उदाहरण हो यो । अर्थतन्त्र नै सुस्त छ भने त्यसको असर सेयर बजारमा पनि पर्ने विश्लेषण गरेर लगानी नबढाउनु भनेको लगानीकर्ताको परिपक्वता हो । अर्थतन्त्रको समस्या सँगै राजनीतिमा देखिए अस्थिरताको छाया पनि धितोपत्र बजारमा परेको गिरीको बुझाई छ ।
प्रधानमन्त्री केपी शर्मा वालीको सरकार परिवर्तन हुन सक्ने अनुमानमा पनि लगानीकर्ता सेयरको बिक्री बढाएको अवस्था छ । साथै अर्थतन्त्रमा देखिएको समस्याले सूचिकृत कम्पनीहरूको लाभांश क्षमता पनि घटाएको छ । त्यसले पनि लगानीकर्तालाई निरास बनाएको हुनसक्छ । विगतका दिनहरूमा अन्य विविध शीर्षकमा लिइने कर्जा पनि सेयर बजारमा परिचालन हुने अवस्था थियो । नेपाल राष्ट्र बैंकले त्यसलाई रोकेपछि पनि सेयर बजारमा लगानी बढ्न असर गरेको हो । तर, सेयर धितो कर्जा मार्फत बजारमा आउन सक्ने पैसा पनि नआउँदा भने लगानीकर्ताले पैसा नभएर भन्दा पनि अर्थतन्त्र र राजनीतिक अवस्थालाई हेरेर लगानी नबढाउन नै उपयुक्त देखेको हुन सक्ने गिरीको बुझाइ छ ।
अहिलेका अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बजार मैत्री मानिन्छन् । हालको सरकार परिवर्तन भएको खण्डमा आउने सरकार सेयर बजार प्रतिको बुझाइ कस्तो हुन्छ भन्ने यकिन गर्न नसक्ने भएकाले पनि सेयर लगानीकर्ता तत्कालका लागि बिक्री गर्न हतारीएको हुन सक्ने एक धितोपत्र ब्रोकरको भनाई छ । सरकार परिवर्तन भएको खण्डमा नयाँ सरकारको सेयर बजार प्रतिको धारण बुझेर पुन लगानी गर्ने भन्दा अहिले सेयर बिक्री बढाएको ती ब्रोकरको भनाइ छ ।
विगतका दिनमा जस्तो हल्लका भरमा लगानी गर्ने, अरुले लगानी गरेको देखेर लगानी गर्ने जस्ता अपरिपक्व निर्णयहरू अहिले घटेको उनको बुझाइ छ । धितोपत्र बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या पनि बढेको र सूचिकृत कम्पनीहरुमा पनि विविधिकरण आएको हुनाले पनि बजार परिपक्क भएको उनी बताउछन । बजारसंगै लगानीकर्ताले पनि अर्थतन्त्र र अर्थतन्त्रका नीति अनुसार लगानीको निर्णय गर्न थालेको हुनाले बजार सँगै लगानीकर्ता पनि परिपक्वता आएको उनको विश्लेषण छ ।
पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलता छ । अधिक तरलता भएसंगै निक्षेप तथा कर्जाको ब्याजदर समेत निरन्तर घट्दो क्रममा छ । तरपनि धितोपत्र बजारको अन्योलता सुध्रने संकेत देखिदैन ।
वित्तीय प्रणालीमा अधिक तरलता मात्र नभई कर्जा लगानी योग्य रकम पनि उत्तिकै छ । बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात नै ७८।२८ प्रतिशतमा झरेको छ । वित्तीय क्षेत्रको औसत निक्षेपको ब्याजदर ५।२४ र कर्जाको ९।३३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा बै।क तथा वित्तीय संस्थाले सेयर धितोमा एक खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । वाणिज्य बै।कहरुले मात्रै यो शीर्षकमा २ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्छन् । हालको सेयरधितो कर्जा बैंकहरुले लगानी गर्न सकने क्षमताको आधा भन्दा थोरै हो । यसमा विकास बैंक रफाइनान्स कम्पनीहरुले प्राथमीक पुँजीको ४० प्रतिशत सेयर धितो कर्जा लगानी गर्न सक्छन । उनीहरुको पनि जोड्ने हो भने करिब ३ अर्ब हुन आउछ । तरपनि लगानीकर्ता लगानी बढाउन नखोजनु र भएको लगानी पनि बिक्री गर्न खोज्नु भनेको अर्थतन्त्र र राजनीतिक अवस्था कै कारण हो भन्न सकिन्छ ।
बेथितीमा मात्रै बढ्ने गरेको धितोपत्र बजार
विगतका वर्षहरुमा धितोपत्र बजार अर्थतन्त्र नीति विपरित हुने गरेको देखिन्थ्यो । भुकम्प आउँदा बढेको धितोपत्र बजार कोरोना महामारीमा पनि उस्तै बढ्ने र हालसम्मै उच्च विन्दु ३१ सय ९८ कायम गर्यो । त्यसका साथै अर्थतन्त्रमा नकारात्मक हुँदा समेत सेयर बजार निरन्तर उकालो यात्रा गर्ने गरेको थियो । पहिलो पटक अर्थतन्त्र अनुसार धितोपत्र बजार चलेको देखिन्छ । केन्द्रीय बैंकले कर्जा नीतिमा गरेको कडाइले पनि धितोपत्र बजार आफ्नै अनुसासनमा चल्न थालेको गिरीको भनाई छ । पछिल्लो समयमा धितोपत्र बजारमा थिती आएको हुनाले पनि बजार अर्थतन्त्र संग तालमेल गरेर घट्ने बढ्ने गरेको उनको बुझाइ छ ।
धितोपत्र बजार स्थिर छैन भन्ने गत साता र यो साताको उताचढावलाई हेर्दा स्पष्ट हुन्छ । गत साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६२.५४ अंकले बढ्यो । त्यसको भोलिपल्ट सोमबार पनि २२.१४ अंकले बढ्यो । त्ष्सपछिका दुइ दिन निरन्तर दोहोरो अंकले घटेको नेप्से सूचक बिहीबार पु्न १३.९५ अंकले बढेको छ । तर, यो साता सुरु भएपनि आइतबार करिब ५ अंकले बढेको नेप्से मंगलबार ५१.११ अंकले घटेको छ । त्यसैगरी बुधबार ९ अंकले बढेको नेप्से बिहीबार ३१.३१ अंकले घटेको छ । यो अवधिमा नेप्सेको उतारचढाव निकै अस्थिर देखिदा पनि सेयरलगानीकर्ताको मनोबल कमजोर भएको स्पष्ट हुन्छ ।
प्रतिक्रिया