निष्पक्ष, पारदर्शी र दिगो पुँजी बजार नै मेरो ‘मिसन’ हो : नवनियुक्त बोर्ड अध्यक्ष श्रेष्ठ


सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिने विषय विवादीत बनेपछि लम्बिएको बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया ११ महिना पछि टुङ्गोमा पुगेको छ । नियामक निकायको नेतृत्व हुँदा धितोपत्र बजार नै अस्थिर हुँदै आएको अवस्थामा नवनियुक्त अध्यक्षले धितोपत्र बोर्डसँगै समग्र पुँजी बजारलाई कसरी अघि बढाउने योजना बनाएछन् भन्ने विषयमा नोटबजारले गरेको छोटो कुराकानीको सम्पादित अंश:

धितोपत्र बोर्डको नेतृत्व सम्हाल्ने जिम्मेबारी सरकारले तपाइलाई सुम्पेको छ, पुँजी बजारलाई कसरी अघि बढाउने योजनामा हुनुहुन्छ ?

सबैभन्दा पहिला मलाई विश्वास गरी सरकारले पुँजी बजारको नियामक निकायको नेतृत्वको जिम्मेबारी दिएकोमा विषेश धन्यवाद दिन चाहन्छु । अब कुरा रह्यो पुँजी बजारलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा आवश्यकता अनुसारका पूर्वाधार तथा औजारहरूलाई अभ्यासमा ल्याएर दिगो विकासका लागि काम गर्नेछु । त्यसका लागि  निष्पक्ष, पारदर्शी र दिगो पुँजी बजारको ‘मिसन’ नै बनाई अघि बढ्ने योजनामा छु ।

पुँजी बजार भन्ने बित्तिकै बेथिती पनि सँग सँगै आउँछ, यसलाई कसरी सम्बोधन गर्ने योजनामा हुनुहुन्छ ?

पुँजी बजारमा तत्कालीन लाभलाई हेर्ने अभ्यास हुँदा गलत अभ्यासहरू हुने हो । त्यसका लागि लगानीकर्ता पनि सचेत भएर लगानी गर्नु पर्ने हुन्छ । तत्कालको तत्कालकै उच्च दरमा प्रतिफल खोज्दा हुने गतिविधि नियन्त्रणका लागि सबैभन्दा पहिला लगानीकर्ता आफै सचेत हुनु पर्ने हुन्छ । लगानीकर्तालाई सचेत गर्ने तथा लगानीकर्ताको हक हित संरक्षण गर्ने सन्दर्भमा कुनै सम्झौता नगरी अघि बढ्ने छु । यसकारण पनि मैले निष्पक्ष, पारदर्शी र दिगो पुँजीबजार बनाउने मिसन लिएको हो ।

पछिल्लो समयमा वित्तीय प्रणालीले सर्पोट गर्दा पनि पुँजी बजार अस्थिर देखिएको छ, यसलाई कसरी हेर्नु भएको छ ? 

धितोपत्र बजारमा सानो भन्दा सानो कुराले पनि लगानीकर्ताको मनोबलमा परिवर्तन गर्न सक्छ । त्यसले समग्र अर्थतन्त्र हेरेर पनि लगानीकर्ता निराश भएको हुन सक्छन् । अर्थतन्त्रको बाह्य क्षेत्र बलियो भएपनि आन्तरिक गतिविधि सुस्त भएकाले पनि लगानीकर्ताको मनोबल कमजोर भएको हुनसक्छ । त्यसका साथै बोर्ड नेतृत्वविहीन हुँदा सुस्त भएको प्राथमिक बजारका कारणले पनि बजार प्रभावित भएको हुन सक्छ । त्यसो भन्दै गर्दा धितोपत्र बजार सूचक घट्ने वा बढ्ने विषयलाई मात्र लिनु उपयुक्त हुँदैन । धितोपत्र बजार सूचक घट्नु बढ्नु सामान्य हो । तर, यसलाई ‘रेजिलियन्ट’ बजार कसरी बनाउन सकिन्छ त्यस तर्फ काम गर्नेछु । 

अब धितोपत्र बोर्डले गर्ने नियमित काम सुचारु हुने भएकाले प्राथमिक बजार पनि चलायमान हुन्छ । प्राथमिक बजार चलायमान भएसँगै दोस्रो बजारमा पनि स्थिरता आउने गरी काम गर्नेछु । बजारको दिगो विकास भनेको नै स्थिरता पनि हो । त्यसका लगानी सेयर लगानीकर्ता तथा पुँजी बजारका सरोकारवालाहरूसँग सहकार्य गरे अघि बढ्ने योजनामा छु ।

पछिल्लो समयमा धितोपत्र बोर्डकै साख कमजोर हुँदै आएको अवस्थामा यसलाई सुधार गर्न कस्तो पहल गर्ने योजना बनाउनु भएको छ ?

धितोपत्र बोर्डको संस्थागत तथा व्यवसायीक सुधार गर्नु पर्ने देखिन्छ । त्यसका लागि पनि निष्पक्ष, पारदर्शी र दिगो पूँजीबजारमा केन्द्रित हुँदा स्वतः सुधार हदै जान्छ । बोर्डको साख कमजोर हुँदै गर्दा पुँजी बजारसँग जोडिएका सबै पक्षहरूलाई असर गर्छ । त्यसैले यस विषयमा म गम्भिर छु । विगतमा के भयो भन्दा पनि अब के हुन्छ भन्ने तर्फ ध्यान दिनु पर्छ जस्तो लाग्छ । त्यसका लागि मैले पूर्ण रुपमा पुँजी बजार प्रति समर्पित भएर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।

पुँजी बजारका पूर्वाधारको कुरा गर्नु भयो, यसमा तपाइले भन्न खोजेको नयाँ स्टक एक्सचेन्ज हो ?

नयाँ स्टक एक्सचेन्जको विषयमा निकै चर्चा चलेको अवस्था छ । समग्र पुँजी बजारको दिगो विकासका लागि स्टक एक्सचेन्ज मात्र नभई वशिष्टिकृत लगानी कोष, कमोडिटी मार्केट लगायका पक्षहरु पनि छ । बजारको विकासका लागि आवश्यकता अनुसार पूर्वाधारको विकास गरिन्छ । पुँजी बजारको विकास र लगानीकर्ताको हकहित संरक्षणका लागि सरकारको आवश्यक निर्देशनको पूर्ण पालना गर्दै नतिजाउन्मुख काम गर्ने विश्वास दिलाउन चाहन्छु ।

प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलबार  १२ : ३९ बजे