बैंक तथा वित्तीय संस्थाको सावा ३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा पैसा थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउन नसकेपछि केन्द्रीय बैंकमा थुप्रिएको हो ।
अर्थतन्त्रको बाह्य पक्ष सबल देखिएपनि आन्तरिक गतिविधि बढ्न सकेको छैन । आर्थिक गतिविधि बढ्न नसक्दा बैंक तथा वित्तिय संस्थामा कर्जाका माग छैन । तर, निक्षेप भने बढिरहेको छ । वित्तीय प्रणालीमा थपिरहेको निक्षेपले अधिक तरलताको समस्या छ । अधिक तरलताका कारण वित्तीय प्रणालीको ब्याजदरमा अस्वभाविक उतारचढाव नहोस् भनेर स्थायी निक्षेप सुविधा र निक्षेप सङ्कलन मार्फत केन्द्रीय बैंकले खिचेको हो ।
वित्तीय प्रणालीमा कर्जा माग बढ्न नसक्दा अधिक भएको तरलता केन्द्रीय बैंकलाइ दिने गरेका छन । केन्द्रीय बैंकले पनि ब्याजदर करिडोरको प्रभावकारी कार्यन्वयन गरी ब्याजदरलाई स्थिर बनाउन बैंकहरुलाई ब्याजदर दिएर निक्षेप लिन्छ । केन्द्रीय बैंकले स्थायी निक्षेपमा ३ प्रतिशत ब्याजदर दिन्छ भने निक्षेप सङ्कलन उपकरणमा ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल नआउने गरी बोलकबोल मार्फत निर्धारण गर्छ । स्थायी निक्षेप तरलता प्रसोचनका लागि प्रयोग गर्छन भने स्थायी निक्षेप सङ्कलन उपकरण अन्तर बैंक ब्याजदर घट्न नदिने गरी तरलता खिच्नका लागि प्रयोग गर्छ ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल ३ खर्ब ३२ अर्ब ६० करोड रुपैयाँ केन्द्रीय बैंकमा छ । यसमध्ये २ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप सङ्कलन उपकरण मार्फत खिचेको हो । त्यसैगरी एक खर्ब २३ अर्ब ५५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा मार्फत बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा राखेको पैसा हो ।
बुधबार मात्रै केन्द्रीय बैंकले अन्तर बैक ब्याजदर ३ प्रतिशत भन्दा तल आउने देखेपछि एक खर्बको निक्षेप सङ्कलन उपकरण जारी गरको छ । उक्त उपकरणका लागि बैंक वित्तीय संस्थाले ९४ अर्ब ८० करोड रुपैयाँ बराबरको निक्षेप दिन चाहेका थिए । बुधबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले दिन चाहेजति रकम लिएको छ ।
बुधबार केन्द्रीय बैंक यसभन्दा अघि कात्तिक २ज्ञ गते लिएको एक खर्बको निक्षेप परिपक्क भएको थियो । उक्त निक्षेप वित्तीय प्रणालीमा आउँदा अन्तर बैंक ब्याजदर झनै घट्ने देखिएपछि पुन २१ दिनका लागि सोही रकम बराबरको निक्षेप संकलन गर्न खोजेको हो । तर, बैंकहरुले केन्द्रीय बैंकले माग गरेजति भने दिएनन् । बुधबारको निक्षेप सङ्कलनका लागि १५ बैंक वित्तीय संस्थाले ३० वटा आवेदन मार्फत निक्षेप राख्नका लागि बोलकबोल गरेका थिए ।
बुधबार निक्षेप संकलनको ब्याजदर भने केही घटेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप संकलन उपकरणमा अधिकतम ३ र न्यूनतम २.८५०० प्रतिशत माग गरेका थिए । सो अनुसार बुधबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९८५९ प्रतिशत कायम भएको छ । यो ब्याजदर मंसिर ९ गतेको तुलनामा केही थोरै हो । उक्त दिनको निक्षेप संकलनको औसत ब्याजदर ३ प्रतिशत कायम भएको थियो ।
प्रतिक्रिया