चालु आर्थिक वर्षको चार महिनामा वित्तीय क्षेत्रको साढे १७ अर्ब सेयर बजारमा परिचालन


चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट साढे १७ अर्ब लगानी थपिएको छ । केन्द्रीय बैंकले सेयर धितो कर्जामा मौद्रिक नीति मार्फत केही खुकुलो व्यवस्था गरेपछि मार्जिन नेचरको कर्जा प्रवाह बढेको हो ।

सेयर बजार निरन्तर घटेपछि लगानीकर्ताको मनोबल बढाउने उद्देश्यले केन्द्रीय बैंकले सेयर धितो कर्जा नीतिलाई संशोधन गर्यो । धितोपत्र बजार प्रति केन्द्रीय बैंक लचक भएपछि बैंक वित्तीय संस्थाबाट उक्त क्षेत्रमा प्रवाह हुने कर्जा बढेको हो । चालु आवको मौद्रिक नीति मार्फत मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम २० करोडको सीमा खारेज गर्यो । यसले सेयर धितो कर्जा बढाउन केही मद्दत गर्यो ।

अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न सकेन । कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रियो । त्यसपछि बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकले लिएको नीतिगत लचकतालाई प्रयोग गर्दे सेयर धितो कर्जा बढाएका हुन । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाका लागि ब्रोकर तथा लगानीकर्तालाई कल नै गरेर कर्जा दिने गरेका छन् । अन्य क्षेत्रका लगानी विस्तार हुन नसकेपछि बैंकहरुको सेयर धितो कर्जालाई वैकल्पिक लगानीको क्षेत्रका रुपमा प्रयोग गरेका हनु । 

बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको कात्तिकसम्ममा एक खर्ब ७ अर्ब ७६ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छन् । यो कर्जा रकम गत असारको मसान्तको तुलनामा १९.६१ प्रतिशतले धेरै हो । गत असारसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा शीर्षकमा ९० अर्ब ९ करोड रुपैयाँ मात्र लगानी गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेसँगै सेयर बजार परिसूचक पनि बढेर ३ हजार भन्दा माथि पुगेको थियो । तर, पछिल्लो समयमा राजनीति वृत्तमा देखिएको अस्थिरताले सेयर बजारको सुधारलाई टिकाउन सकेन । 

चालु आवको कात्तिकसम्ममा वाणिज्य बैंकहरुबाट मात्रै ८५ अर्ब ९१ करोड १० लाख रुपैयाँ मार्जिन नेचर कर्जा प्रदान भएको छ । यो कर्जा रकम गत असारकोे तुलनामा १५ अर्ब रुपैयाँले धेरै हो। गत असारसम्ममा वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड रुपैयाँ मात्र मार्जिन नेचर कर्जा प्रवाह गरेका थिए ।

त्यसैगरी चालु आर्थिक वर्षको कात्तिकसम्ममा विकास बैंकहरुले १७ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् । यो रकम गत असारको तुलनामा २ अर्बले धेरै हो । गत असारसम्ममा विकास बैंकले १५ अर्ब ५९ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेका थिए ।

चालु आर्थिक वर्षको फागुनसम्ममा फाइनान्स कम्पनीले कात्तिकसम्ममा ४ अर्ब १५ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन । गत असारसम्ममा फाइनान्स कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए ।

सेयर धितो कर्जा प्रवाह नेपाल राष्ट्र बैंकको नीति तथा धितोपत्र बजारको गति अनुसार घट्ने बढ्ने हुन्छ । धितोपत्र बजार बढेको समयमा सेयर धितो कर्जाको माग पनि बढी हुन्छ । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारको जोखिम अवस्था अनुसार नीतिगत व्यवस्थामा कडाइ र खुकुलो गर्दा पनि यस्तो खालको कर्जा घट्ने र बढ्ने गरेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  १७ : ३३ बजे