कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा आएको सुस्तताको असर विकास बैंकहरुमा पनि देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा विकास बैंकहरुले कर्जा लगानी विस्तार तथा असुली गर्न नसकेपछि नाफामा करिब २२ प्रतिशतको गिरावट आएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ मा विकास बैंकहरुले ३ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा अघिल्लो आवको तुलनामा २१.९३ प्रतिशतले थोरै हो । अघिल्लो आवमा विकास बैंकहरुले ४ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेका थिए ।
सरकारले अर्थतन्त्रका लागि बजेट मार्फत प्याकेज नल्याईं बैंकिङ्ग क्षेत्रमार्फत सहुलियत दिने नीति लियो । सोही अनुसार ब्याजदरमा छुट तथा कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना गर्नुपर्दा बैंकहरुको नाफा घटेको हो ।
त्यसका साथै कोरोनाका कारण आर्थिक गतिविधि हुन नसक्दा बैंकहरुमा निक्षेप भने ह्वात्तै बढेको छ । तर, कर्जाको माग शुन्यजस्तै रहेकाले पनि विकास बैंकको नाफा प्रभावित भएको हो ।
गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २० विकास बैंकमध्ये ६ बैंकको मात्र नाफा समान्य बढेको छ । बाँकी १५ विकास बैंकको नाफा घटेको छ । गत आवमा नाफा बढाउने बैंकहरुमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफा बढेको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गते देखि जेठ अन्तिमसम्म लकडाउन गरेको थियो । यो अवधिमा बैंकिङ्ग क्षेत्रलाई अत्यावश्यक क्षेत्रको रुपमा राखेर सेवालाई निरन्तरता दिइएको थियो । यो अवधिमा बैंकहरुले निक्षेप लिने र भुक्तानी दिने मात्र काम गरे ।
आर्थिक वर्षको अन्तिम त्रैमास भएकाले बैंकहरुले कर्जा असुलीलाई प्राथमिकता दिनुपर्नेमा कोरोनाका कारण कोरोना प्रभावित ऋणीलाई ब्याजमा छुट तथा कर्जाको समयावधि बढाइदिएको हुनाले नाफामा प्रत्यक्ष असर गरेको हो । अर्जा असुली प्रभावित भएपछि राष्ट्र बैंकले बैंकहरुलाई आगामी असोजसम्ममा उठाएको ब्याज तथा साँवालाई असारसम्मको नाफा मान्न सकिने व्यवस्था समेत गरेको छ ।
मुक्तिनाथले सबैभन्दा धेरै नाफा गर्दा सालपा डेभलपमेन्ट बैंक नोक्सानीमा
गत आवमा सबैभन्दा धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले गत आवमा ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १५ करोड ७० लाख रुपैयाँले थोरै हो । नेप्सेमा सूचीकृत नरहेको एक जिल्ले सालपा डेभलपमेन्ट बैंक भने गत आवमा १ करोड ४५ लाख ९० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आवमा सालपा डेभलपमेन्ट बैंकको नोक्सानी ३१ लाख ९० हजार रुपैयाँ रहेकोमा १ करोड १४ लाख रुपैयाँले नोक्सानी बढेको हो।
गत आवमा ९ विकास बैंकको अस्तित्व सकियो
नेपाल राष्ट्र बैंकको अनुसार गत आवमा ९ विकास बैंकको अस्तित्व खारेज भएको छ । अघिल्लो आवमा सञ्चालनमा रहेका विकास बैंकहरु मर्जर तथा एक्विजिशनका कारणले खारेज भएका हुन् ।
एनएमबि बैंकसँग मर्जरमा गएरपछि ओम डेभलपमेन्ट बैंक र कुमारी बैंकले प्राप्ती गरेपछि देव विकास बैंकको अस्तित्व समाप्त भएको छ । यसैगरी मेगा बैंकले प्राप्ती गरेपछि गण्डकी विकास बैंक र सिटिजन बैंकले प्राप्ती गरेपछि सहयोगी विकास बैंकको अस्तित्व समाप्त भएको हो ।
यसैगरि प्राइम कमर्सियल बैंकले प्राप्ती गरेपछि कैलाश विकास बैंक र कन्काई विकास बैंक तथा शाइन रेसुङ्गाले प्राप्ती गरेपछि भार्गव विकास बैंक, पुर्णिमा विकास बैंकको पनि गत आवमा मर्जर तथा एक्विजिशन मार्फत अस्तित्व सकिएको छ । यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकले प्राप्ती गरेपछि कम्युनिटी डेभलपमेन्ट बैंक पनि गत आवमा खारेज भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया