विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको लडाईँले उपभोक्ता मारमा


नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन सेवा प्रदायकबीचको अदृष्य द्धन्द्धले उपभोक्ता मारमा पर्दै आएका छन् ।

प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका खम्बामा टाँगिएका केबल टीभी तथा इन्टरनेटका तार सूचना नदिई काट्दा लकडाउनका बेला सेवाग्राही समस्या परिरहेका छन् । बुधबार मात्र विद्युत प्राधिकरणले नयाँ बानेश्वर संसद भवन आसपासको क्षेत्रमा एकाएक सबै तारहरु काटिदिएपछि सो क्षेत्रका सर्वसाधारण प्रभावित भएका छन् ।

विद्युत प्राधिकरणले बिना सूचना इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी सेवा प्रदायकका विभिन्न स्थानको तार काटिदिएपछि त्यसको मारमा लाखौं उपभोक्ता पर्ने गरेको कटुसत्यलाई प्राधिकरणले सत्य सावित गराउँदै आएको छ ।

प्राधिकरणले पुराना पोलहरु फेर्ने क्रममा सम्बद्ध पक्षसँग कुनै किसिमको समन्वय नगर्दा समस्या भएको सेवाप्रदायकहरुको भनाई छ । इन्टरनेट सेवाप्रदायक संघका अनुसार सेवा प्रदायकबाट भाडा लिएपनि उपभोक्ताप्रति प्राधिकरण उत्तरदायी हुन नसकेको हो ।

नोटबजारसँग कुरा गर्दै संघका अध्यक्ष भोजराज भट्टले तार काट्ने बेला प्राधिकरणले कुनै जानकारी नदिएको बताए । “लकडाउनका बेला सर्वसाधारणलाई इन्टरनेट अत्यावश्यक हुने भए पनि प्राधिकरणले यो विषयलाई महत्वमा राखेको छैन,” उनले भने, “कहाँ कति बेला तार काट्छ, त्यसको जानकारी सेवाप्रदायकलाई हुँदैन, यो अवस्थामा हामीले मात्र कसरी काटिएका तार व्यवस्थापन गर्न सक्छौं ?” सरकार विद्युत प्राधिकरणले समस्याको समधान खोज्नुको साटो अधिनायकवादी शैलीमा सेवाग्राहीलाई पेल्न खोज्दा त्यसको सिधा असर आम उपभोक्तामा परेको उनको आरोप छ ।

अर्को इन्टरनेट सेवाप्रदायक क्लासिक टेकका फाइबर प्रमुख चम्पक खड्का पनि प्राधिकरणले पुर्व जानकारी निदिँदा सेवाप्रदायकहरुले तारमा अनावश्यक खर्च गर्नुका साथै सेवा सुचारु गराउन समय लाग्ने गरेको बताउँछन् । “अहिले सबै कृयाकलापहरु भर्चुअल माध्यमबाट भईरहेको अवस्थामा जानकारी दिएर मात्र तार काट्न संघबाट नै आग्रह गरिए पनि प्राधिकरणले त्यसो गरिरहेको छैन,” खड्काले भने, “समयमा जानकारी दिने हो भने सेवाप्रदायकले केही समयका लागि तार खम्बाबाट भिकेर काम पूरा भए पछि फेरि जोड्न सकिन्थ्यो । तर प्राधिकरणको एकोहोरो शैलीका कारण अहिले सडमा तारको थुप्रो लाग्ने गरेको छ, काटिएको तार फेरी प्रयोग गर्न मिल्दैन ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

उता केबल टिभी एशोसिएसनका अध्यक्ष सुधीर पराजुली पनि विद्युत प्राधिकरणले सेवाग्राहीसँग समन्वय नगरी मनलागेको ठाउँमा तार काटिदिने गरेको बताए । “सेवाग्राहीले गुनासो सेवाप्रदायकमा गर्ने तर समस्याको जड विद्युत प्राधिकरण हुने । यो अवस्था कहिलेसम्म हो ? हामीलाई जानकारी त दिनुपर्यो नि । प्राधिकरणको हेपाहा शैलीले पराकाष्ठा नाघ्यो ।” निषेधाज्ञाको समयमा अत्यावश्यकीय सेवा अन्तर्गत रहेको इन्टरनेटको तार जानकारी नदिइ काटेको भन्दै उपभोक्ताले भने सेवाप्रदायकप्रति आक्रोश पाखेका छन् ।

विद्युत प्राधिकरणले खम्बा परिवर्तन गर्दा तार व्यवस्थापनका लागि समय नदिएको जानकारी सेवाग्राहीसम्म नपुग्नु स्वभाविक हो । नेपाल दुरसञ्चार प्राधिकरणले लकडाउनको अवस्थामा विद्युत प्राधिकरणले सूचना नदिई तार काट्न नहुने बताएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले असहज परिस्थितीमा आम जनता समस्यामा पर्ने किसिमले कुनै पनि पक्ष तथा नियकाले कदम चाल्न नहुने बताए ।

पछिल्ला दिनहरुमा इन्टरनेटको तार धेरै काटिने गरेको गुनासो आएको भन्दै उनले विद्युत प्राधिकरणसँग समन्वयका लागि पहल भईरहेको बताए ।नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइवर भाडाको नयाँ दर रेट कायम गरेको र उक्त भाडादर इन्टरनेट तथा टिभी सेवा प्रदायकले नतिरेपछि प्राधिकरण र इन्टरनेट तथा टिभी सेवा प्रदायबीच विगत लामो समयदेखि अदृष्य रुपमा द्धन्द्ध चल्दै आएको छ ।

विद्युत प्राधिकरणले डेढ बर्ष अघिदेखि बढेको भाडा नबुझाएको भन्दै तार काट्ने चेतावनी दिँदै आएको थियो । अहिले पनि प्राधिकरण, इन्टरनेट सेवाप्रदायक तथा केबल टीभी सेवाप्रदायक बीचको विवाद साम्य भइसकेको छैन ।२०७५ साल साउन १ गतेदेखि विद्युत प्राधिकरणले एकलौटि ढंगले नयाँ दररेट कायम गरेको भन्दै सेवाप्रदायकहरुले विरोध गर्दै आएका थिए ।

भाडाको विषय अझै साम्य नभएकै कारण विद्युत प्राधिकरणले इन्टरनेट तथा टिभी सेवा प्रदायकको तार बिना सूचना काटिदिने गरेको आरोप लाग्दै आएको छ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमसँग सम्झौता गरी ती संस्थाहरुले खम्बा प्रयोग गरी आफ्नो सेवा प्रवाह गर्दै आएकोमा २०७५ साउन १ गतेदेखि ५०० प्रतिशतसम्म भाडा बढाएपछि विवाद चुलिएको थियो ।