मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा झन गिरावट आएको छ । कोरोना महामारी र आर्थिक मन्दीका कारण उद्योगहरूको क्षमता उपयोग झने घटेको राष्ट्र बैंकले जनाएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५१.०३ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यी उद्योगहरूको औसत क्षमता उपयोग ६१.५६ प्रतिशत रहेको थियो ।
गत आवमा हल्का पेय पदार्थ उद्योगले सबैभन्दा बढी ९७.७८ प्रतिशत छ भने वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ०.४० प्रतिशत रहेको देखिन्छ । वनस्पति घिउ उद्योगको क्षमता अति न्यून रहनुमा हालका दिनहरूमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै जानु हो । यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा उत्पादन पनि क्रमशः घट्दै गएको देखिन्छ ।
गत आर्थिक वर्षमा प्लाष्टिकजन्य उद्योगको र छाला तथा छालाको सामान उत्पादन गर्ने उद्योगको क्षमतामा अघिल्लो अवधिको तुलनामा कमी आएको देखिन्छ ।
गत आवमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ११.२ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँ थियो ।
मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३.६८ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४.५५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स सामानको उत्पादनतर्फ ४.४७ प्रतिशत, निर्माण उद्योगतर्फ ५.६७ प्रतिशत, खानी उद्योगतर्फ १.२५ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.४६ प्रतिशत कर्जा प्रवाह भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले गत आवमा यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १७.८८ प्रतिशतले वृद्धि भई ३ खर्ब ४९ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो सोही अवधिमा यस्तो निक्षेप १३.२३ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ४६ करोड रहेको थियो ।
गत आवमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा अघिल्लो आवको तुलनामा ३.९८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ हुन आएको छ । अघिल्लो आवमा यस्तो कर्जा ७ प्रतिशतले वृद्धि भई ४ खर्ब ६० अर्ब २१ करोड रुपैयाँ थियो ।
मधेश प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । उपर्युक्त आयोजनाहरू मध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ७२ हजार ८ सय ६१ रहेको छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३.३२ प्रतिशत हो ।
प्रतिक्रिया