संस्थागत लगानीकर्ताले ‘प्रोफिट बुक’ गर्दा शेयर बजार घट्यो

0
Shares

धितोपत्रको बजारलाई कमाउने क्षेत्र बनाएका बैंक/वित्त तथा बीमा कम्पनीहरुले नाफा बुक गर्दा बजारले घट्दो लय समाएको छ । लगानीका अन्य क्षेत्र नपाएका संस्थागत लगानीकर्ता बजार प्रवेश गर्दा बढेको बजार उनीहरुले नै शेयर बिक्री गर्न थालेपछि बजार घटेको हो ।

कोरोना महामारीको कारण अर्थतन्त्र ठप्प भएसँगै लगानीका क्षेत्रहरु नभएपछि बैंक/वित्तीय संस्था तथा बीमा कम्पनीहरु पनि शेयर बजार प्रवेश गर्न थालेका थिए । बैंकमा कर्जाको माग नहुुनु र ब्याजदर उच्च दरमा घट्नुले पनि लगानी अवसर नभएपछि बैंकहरु नै शेयर बजारमा लगानी गर्न थालेका थिए ।

त्यतिमात्र नभई बैंक वित्तीय संस्थामा उच्च ब्याजदरमा लगानी गर्ने बीमा कम्पनीहरुले पनि ब्याजदर घटेपछि धेरै प्रतिफलका लागि शेयर बजारमा नै लगानी गर्न थालेका थिए । बैंकहरु र बीमा कम्पनीहरुले वैधानीक रुपमा नै पनि शेयर बजारमा लगानी गर्न पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाको सन्दर्भमा कुनै एक संगठित संस्थाको शेयर, डिबेञ्चर वा कुनै सामुहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पूँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाहरुको शेयर, डिवेञ्चर वा सामुहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पूँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्छन् ।

त्यसैगरी, संगठित संस्थाहरुको शेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको १० प्रतिशतसम्म तथा “घ” वर्गको वित्तीय संस्थामा गरेको लगानीको हकमा उक्त संस्थाको चुक्ता पूँजीको २५ प्रतिशतसम्म मात्र लगानी गर्न सकिनेछ । लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको पाइएमा यसरी बढी लगानी भएको रकम बराबर पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाई पूँजीकोष कायम गरिनेछ ।

त्यसैगरी बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशत अर्थात शेयर लगानी गरिने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्न पाउने व्यवस्था छ ।

भदौ महिना सुरु भएपछि शेयर बजारमा बैंकहरु तथा बीमा कम्पनीहरुले लगानी बढाउन थालेको एक धितोपत्र दलालले बताए । “पछिल्ला दिनहरुमा बैंक र बीमाको आम्दानीका क्षेत्र खुम्चिन थालेपछि शेयर बजारमा लगानी गर्न थालेका छन्,” ती ब्रोकरले भने, “संस्थागत लगानीकर्ता बजारमा आएको हुनाले बजार बढेको हो ।” संस्थागत लगानीकर्ताले प्रतिफल सुनिश्चित छिट्टै गर्न खोजेको खण्डमा बजार घट्नसक्ने उनको तर्क छ ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्प छ । यसले गर्दा पनि अन्य क्षेत्रको पैसा पनि शेयर बजार आएको देखिन्छ । विश्व अर्थतन्त्र नै जटील अवस्था पुगेको अवस्थामा शेयर बजारमा मात्र निरन्तर सुधार आउनु झनै खतराको संकेत हो ।

यस्तो अवस्थामा बजारमा उच्च चलखेल पनि हुनसक्ने लगानीकर्ता बद्री पौडेलले बताए । अर्थतन्त्र विपरित कुदेको शेयर बजारमा होसियार हुनुपर्ने ती लगानीकर्ताको भनाई छ । अहिलेको अवस्थामा बजार बढ्नु भनेको सबै क्षेत्रका पैसा पार्क गर्ने क्षेत्र बनेकाले पनि बजार बढेको उनको भनाई छ ।

भदौ महिनामा मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११९ दशमलव १२ अंकले बढेको छ । भदौ १ गते सोमबार १ हजार ३९१ दशमलव ४६ अंकमा रहेको नेप्से सूचक निरन्तर बढेर गत साताको बुधबार १५१०.५७ अंकसम्म पुगेको थियो ।  तर, गत साता नेप्सेमा कारोबार भएको अन्तिम दिन समान्य अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । गत साताको बिहीबार देखि लगानीकर्ताले प्रतिफल सुनिश्चित गर्न सुरु गरेको हुन सक्छन् ।

भदौ महिना सुरु भएदेखि सुधारको गतिमा देखिएको शेयर बजार परिसूचक आइतबार भने दोहोरो अंकले घटेको हो । यो महिनामा शेयर बजार घटेको भएपनि उच्च अंकले बढ्ने र समान्य करेक्सन हुने गरेको थियो ।

गत साताको अन्तिम दिन बिहीबार सामान्य अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको हो । पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कारण शेयर बजार सुधार हनु नसकेको आरोप लगाउँदै आएका लगानीकर्ता समेत आइतबार बजर बढ्ने अपेक्षा गरेका थिए । तर, अर्थमन्त्री सरकारबाट बाहिरिएको एक दिनपछि खुलेको शेयर कारोबार आइतबार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक मात्र नभई कारोबार रकममा समेत उच्च गिरावट आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।