बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा नोक्सानी २४ अर्ब थपियो, बक्यौता ब्याजमा भने सुधार


चालु आर्थिक वर्षको सुरुवातदेखि कर्जाको माग नबढेपछि बैंकहरुले तिब्रता दिएको असुलीको प्रभाव बक्यौता ब्याजमा मात्र देखिएको छ । बैंकहरुले पौने २ अर्ब बक्यौता ब्याज उठएपनि कर्जा नोक्सानी व्यवस्था झनै बढ्दा असुलीको प्रभाव न्यून देखिएको हो ।

अर्थतन्त्रमा आएको मन्दीका कारण उद्योग ब्यवसाय मात्र नभइ आम सर्वसाधारण समेत प्रभावित भएका छन् । त्यसको असर केही ढिला गरी बैंकहरुमा देखिन थाल्यो । अर्थतन्त्रमा देखिएको असरले बैंकहरुमा कर्जाको माग स्थिर रहने मात्र होइन डिफल्ट दर बढ्ने तथा नोक्सानी व्यवस्था बढाउन पर्ने अवस्था आयो । त्यसले बैंकहरुको वित्तीय सबलता मै असर पर्ने अवस्था बन्यो । उक्त असर चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा पनि देखिएको छ ।

चालु आर्थिक वर्ष (२०८१/८२)को पुस मसान्तसम्ममा २० वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.६१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बैंकहरुको कुल नाफा २८ अर्ब ७६ कराड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको सो अवधिमा बैंकहरुले उठ्न बाँकी ब्याज केही हदसम्म उठान सफल भएपनि कर्जा नोक्सानी वापत छुट्याउनु पर्ने रकम घटाउन सकेका छैनन् । त्यसले गर्दा पनि बैंकहरुको नाफा प्रभावित भएको हो । बैंकहरुको नाफा समान्य घटेको भएपनि वितरण योग्य नाफामा भने सुधार देखिएको छ ।

बैंकहरुको खराब कर्जा गत आव (असार २०८१) को तुलनामा चालु आवको पुसम्म झनै बढेको छ । गत असार मसान्तसम्ममा बैंकहरुको औसत खराब कर्जा ३.५४ प्रतिशत रहेकोमा चालु आवको ६ महिनाको अवधिमा करिब एक प्रतिशत विन्दुले बढेर ४.३८ प्रतित पुगेको छ । बैंकहरुको खराब कर्जाको वृद्धिदर हेर्दा अर्थतन्त्रका समस्या अझै पनि सहज नभएको स्पष्ट हुन्छ । तर, अर्थमन्त्री विष्णु पौडलले भने अर्थतन्त्रले विस्तारै गति लिन थालेको बताउने गरेका छन् ।

त्यसैगरी चालु आवको ६ महिनामा बैंकहरुले २४ अर्ब ६७ करोड रुपौयाँ कर्जा नोक्सानी व्यवस्थामा थपेका छन् । गत असारसम्ममा बैंकहरुले उक्त शिर्षकमा ३६ अर्ब ९६ करोड रुपैयाँ छुट्याएका थिए । चालु आवको दोस्रो त्रैमासम्ममा बैंकहरुले गत आवको कुल नोक्सानी व्यवस्थाको ६६.७४ प्रतिशत रकम छुट्याइसकेका छन् । आगामी दिन कर्जा असुलीमा सुधार हुन नसकेको खण्डमा बैंकहरुको अवस्था झनै जटिल बन्ने निश्चित छ ।

बैंकहरुको केही वित्तीय सुचकहरु ऋणत्मक नै भएपनि अर्थतन्त्रले विस्तारै गति लिन थालेको हुनाले आगामी दिन सुधार हुने पुर्व बैंकर परशुराम कुँवर क्षेत्रीले बताए । “आर्थिक गतिविधिमा केही सुधार आएको छ,” उनले भने, “आर्थिक गतिविधि बढ्ने वित्तीकै ऋणीको नगद प्रवाहमा समेत सुधार आउने र बैंकहरुको असुली बढ्ने भएकाले आगामी दिनमा सुधार हुने संकेत देखिएको छ ।” कर्जाको माग पनि बढ्न थालेकाले बैंकहरुको अहिलको अवस्थामा सुधार हुनेमा उनी आशावादी छन् ।

चालु आर्थिक वर्षको पुससम्ममा बैंकहरुको वितरण योग्य नाफा १७ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा एक अर्ब १३ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सो अवधिमा १५ बैंकहरुको वितरण योग्य नाफा सकारात्मक भएपनि ५ बैंकको भने ऋणात्मक छ । सो अवधिमा सबैभन्दा धेरै कुमारी बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँले ऋणात्मक छ भने हिमालयन बैंकको वितरण योग्य नाफा सबैभन्दा धेरै ३ अर्ब ४९ करोड रुपैयाँले सकारात्मक छ । ६ महिना अवधिको जिवतरणयोग्य मुनाफालाई वार्षिकीकरण गर्दा भने अवस्था कमजोर नै देखिन्छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ बैंकहरुले उठ्न बाँकी ब्याज उठाएका छन । बाँकी ८ बैंकको बक्यौता ब्याज अझै पनि उठ्न बाँकी छ । २० बैंकहरुको कुल उठ्न बाँकी रहेको ब्याज मध्येबाट एक खर्ब ७६ करोड रुपैयाँ असुल उपर भएको छ ।

Click on Image to view in large size.

चालु आवको दोस्रो त्रैमासम्ममा कर्जा नोक्सानी ब्यवस्थाबाट फिर्ता लिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक मात्र रहेको छ । बैंकले सो अवधिमा २५ करोड रुपैयाँ जोखिम व्यवस्थाबाट फिर्ता लिएको छ । अन्य १९ वाणिज्य बैंकले पुरानो फिर्ता लिएको भएपनि नयाँ थप गर्नु पर्ने भएपछि यस्तो व्यवस्था झनै बढेको हो । चालु आर्थिक वर्षको पुससम्ममा सबैभन्दा धेरै कर्जा नोक्सानी व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले ३ अर्ब २७ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

चालु आवको पुससम्ममा ५ वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको छ । खराब कर्जा ५ प्रतिशत भन्दा धेरै हुनु भनेको तुलनात्मक रुपमा जोखिम धेरै हुनु हो । यो सूचीमा सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेनट बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक रहेका छन् ।

चालु आवको पुसम्ममा ३ अर्ब भन्दा धेरै खुद नाफा गर्नेमा नबिल बैंक र ग्लोबल आइएमइ बैंक रहेका छन् । सो अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । बैंकले सो अवधिमा ३ अर्ब २४ करोड रुपौयँ खुद नाफा गरेको छ । त्यसैगरी सो अवधिमा सबैभन्दा थोरै खुद नाफा गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले सो अवधिमा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार  १८ : ५५ बजे