भाखा नाघेको अवधिका आधारमा नोक्सानी व्यवस्था नगरेपछि ३ बैंक कारबाहीमा 


नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले भाखा नाघेको कर्जाको अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था नगरेको तथा जोखिम भार न्यून गरेपछि कारबाही गरेको हो । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको नियामकीय परिपालना नगरेपछि हिमालयन बेंक, प्रभु बैंकएनआइसी एसिया बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले प्रभु बैंकको सञ्चालक समितिलाई सचेत गराएको हो भने एनआइसी एसियाका सञ्चालक समिति सहित प्रमूख कार्यकारी अधिकृत र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो ।  

प्रभु बैंकले वार्षिक साधारण सभा नभएसम्मको लागि रिक्त सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने व्यवस्था छ । तर, बैंकले सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोही वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएपछि केन्द्रीय बैंकले सचेत गराएको जनाएको छ । बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएता पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी प्रभु बैंकले स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरू समयमै सुधार गर्न नगरेपछि कारबाही गरेको केन्द्रीय बैंकले जनाएको छ । 

कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको केन्द्रीय बैंकले जनाएको छ । साथै केही कर्जाहरूमा जोखिम भार प्रदान गर्दा गर्नु पर्नेभन्दा कम गरेको केन्द्रीय बैंकले जनाएको छ । बैंकले वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो ।
हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यसैगरी एन आई सी एशिया बैंक लिमिटेडका संचालक, निजको परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदर भन्दा बढी व्याज प्रदान गरेपछि केन्द्रीय बैंकले कारबाही गरेको हो । बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको समेत केन्द्रीय बैंकले जनाएको छ । आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघाइलाई नसिहत दिएको केन्द्रीय बैंकले जनाएको छ । 

साथै एनआईसी एशियाको स्थलगत निरीक्षणमा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिम भार सम्बन्धी निर्देशन, ब्याजदर सम्बन्धी निर्देशन एवम् संस्थागत सुशासन सम्बन्धी कतिपय निर्देशनको पालना नगरेको पाएपछि लिखित आदेश जारी गरेको केन्द्रीय बैंकले जनाएको छ । 

एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र यस बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न÷गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्न बैंकलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । ब्याजदर सम्बन्धी व्यवस्था उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्वयसी फ्रेमवर्क अनुरुप हुने गरी जोखिम भार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन नियमित रुपमा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । साथै कन्द्रीय बैंकले एनआइसी एसियालाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था तथा संस्थागत सुशासन सम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न÷गराउन तथा सुधारको कार्ययोजना बनाई लागू गर्न समेत निर्देशन दिएको छ । 

 

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार  २१ : ०८ बजे